संयुक्तराज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा

एजेन्सी: संयुक्तराज्य अमेरिकाले युक्रेनलाई बयासी करोड डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ। नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य युद्ध सामग्री समावेश गरिएको छ।

पछिल्ला दिनमा रूसले युक्रेनमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तब्यस्त पारेको छ भने युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ। रूसी फौजको निरन्तर आक्रमणबाट भयभीयत भएका युक्रेनी नेताहरूले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोला बारुद र आधुनिक हातहतियार उपलव्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गरेको हो।

अमेरिकाले युक्रेनलाई हतियार र सैन्य प्रशिक्षणमा आठ अर्ब ८० करोड डलरभन्दा बढीको सैन्य सहयोगको प्रतिबद्धता गरेको छ। रूसी सेनालाई परास्त गर्न अमेरिकासहितका पश्चिमा देशबाट युक्रेनले थप मद्दत मागेका थिए। उनीहरूले रूसी आक्रमणपछि करिब सात अर्ब डलरको सहायता घोषणा गरिसकेका छन्। शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको अधिकांश सहायता युक्रेन पुग्न हप्ता वा महिना लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार