
खोज तलास खबर, जनकपुरधाम ! ग्लोबल आइएमई बैंक लिमिटेडले तनहुँको बन्दीपुरमा दुई वटा शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । बन्दीपुर शाखा अन्तर्गत रहने गरी बन्दीपुर गाउँपालिका वडा नं ६ स्थित धरमपानी हुस्लाङ हटिया र वडा नं ६ कै साराङघाटमा नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
शुक्रबार धरमपानी स्थित हूस्लाङ शाखाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र ग्लोबल आईएमई बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयका प्रदेश प्रबन्धक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरे ।
शनिबार साराङघाट शाखाको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङ र गण्डकी प्रदेश प्रबन्धक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरे ।
बैंकका शाखा निकै टाढा भएका स्थानमा सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यले शाखा रहित बैंकिङ सुरु गरिएको हो ।
बैंकले धरमपानी स्थ्ति हुस्लााङमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय युग्मा गुरुङ र साराङघाटमा गरेको सेवाको लागि स्थानीय सुनिता थापा लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । तनहुँमा सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७७ पुगेको छ ।
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्ने, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा छन् । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकको छ ।
के हो शाखारहित बैंकिङ सेवा ?
बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार – २२:१४:२० बजे
प्रतिक्रिया