
खोज तलास खबर, जनकपुरधाम ! पर्साको बहुदरमाई नगरपालिकाभित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरू आन्दोलित भएका छन् ।
नेपाल शिक्षक महासंघ पर्साको अगुवाइमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक–शिक्षिकाहरूले पठनपाठन बन्द गरेका हुन् । जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनीहरूले विगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् । गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरूको घरखर्च टार्न पनि समस्या परेको भन्दै बाध्य भएर विद्यालय बन्द गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिथराज यादवले बताए ।
उनका अनुसार विद्यालयमा ताला लगाएर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई चाबी बुझाइएको छ । बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक–शिक्षिकाहरूले तलबभत्ता नपाएको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरूको समस्यालाई आफूले गम्भीर रूपमा लिएको बताए । यो विषय छलफलबाट नै टुंगोमा पुग्ने उनले जानकारी दिए । बहुदरमाई नगरपालिकामा २० वटा स्कूलमा करिब १० हजार विद्यार्थीहरू अध्ययन गर्छन् ।
प्रतिक्रिया