
चन्दन कूमार महतो,रौतहट
खोज तलास खबर, जनकपुरधाम ! अति विपन्न तथा सीमान्तकृत समुदायका परिवारहरूको जीवनस्तर उकास्ने उद्देश्यले सञ्चालित एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत गरुडा नगरपालिकाको वडा नं. ४ मा दीक्षान्त समारोह सम्पन्न भएको छ। अति बिपन्न परिवारलाई जीविकोपार्जन सहयोग मार्फत गरिबीको चक्रबाट बाहिर निकाल्ने ग्राजुएसन बिधि अन्तर्गत ५० घर परिवारलाई सोको प्रमाण पत्र प्रदान गरिएको छ l
अति विपन्न परिवारहरूलाई वित्तीय पहुँच, सामाजिक सुरक्षा, सीप अभिवृद्धि तथा साना व्यवसायको माध्यमबाट आत्मनिर्भर बनाएर दीक्षित गर्ने गरिएकोछ । सो संगै परियोजनाले वित्तीय सेवाप्रदाय संस्थासँग सेवा उपयोगकर्ताहरूको पहुँच विस्तार गर्दै आएको छ। सेवाग्राहीहरूलाई नियमित बचत गर्न, साना व्यवसाय सञ्चालन गर्न, तथा वित्तीय व्यवस्थापनमा दक्ष बनाउन निरन्तर तालिम, सहजीकरण तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ।
गरुडा नगरपालिका वडा नं. ४ मा आयोजित उक्त समारोहमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमानी प्रसाद जैसवालले दिक्षित भएको प्रमाण पत्र प्रदान गरेका थिए l
प्रमाण पत्र बुझ्दै गरुडा वार्ड नम्बर ९ का ३५ बर्षीय लिला कुमारी साहले आफ्नो जीवनमा नसोचेको परिवर्तन आएको बताइन l
“ यो कुरा गर्दा मलाई मेरो विगतको संघर्ष सम्झिन्छु। त्यो बेला म पैसा गन्नसमेत जान्दिनथेँ। तर आज म १० रुपैयाँदेखि हजार रुपैयाँसम्मका नोट सजिलै गन्न र सही तरिकाले प्रयोग गर्न सक्छु।” उनले बताइन l
परियोजनाबाट प्राप्त सहयोगले उनि किराना पसल सञ्चालन गर्दै आएकि छिन। अहिले उनि यही पसलबाट मासिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताउछिन ।
“यही आम्दानीले मेरो परिवारको दैनिक खर्च टार्न, नानीबाबुलाई विद्यालय पठाउन, अनि भविष्यप्रतिको भरोसा बढाउन ठूलो मद्दत पुगेको छ।“ उनले बताइन l
समारोहमा नगरप्रमुख जयसवालले परियोजनाको प्रयासप्रति धन्यवाद दिँदै स्थानीय तहमा विपन्न वर्गका परिवारहरूको जीवनशैलीमा देखिएको परिवर्तन अत्यन्त प्रेरणादायी रहेको बताए। उनले नगरपालिकाले यस्ता प्रभावकारी कार्यक्रमहरूलाई पूर्ण साथ र समन्वय गरिरहने प्रतिबद्धता जनाए।
ग्रामीण विकास केन्द्र नेपालका अध्यक्ष हुसैनले परियोजनाको सफलताको श्रेय लाभग्राहीहरूको निरन्तर प्रयास र सहकार्यलाई दिँदै भविष्यमा थप स्तरीय कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। वर्ल्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधि बिनय चौहानले परियोजनाबाट देखिएको सकारात्मक परिवर्तन र समावेशी विकासलाई सुदृढ गर्दै लैजाने विश्वास व्यक्त गरे।
कार्यक्रमको समापनमा दीक्षित सेवाग्राहीहरूलाई व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गर्दै खादा लगाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
World vision international को सहकार्यमा ग्रामिण बिकास केन्द्र नेपालले रौतहटको गरुडा र माधवनारायण नगरपालिकामा सो परियोजना संचालन गर्दै आएको छ l
प्रतिक्रिया