
शियाराम यादव – वैशाख १५
खोज समाचार खोज, जनकपुरधाम! लहानमा चार लेन सडक निर्माणको क्रममा मुख्य चोकमा अवस्थित सहिद सालिकको व्यवस्थापन सम्बन्धी सहमति जुटेको छ। लहान नगरपालिका र जसपा नेपाल सहितका मधेसी दलहरूसँग आज भएको छलफलपछि सहमति भएको हो। सहमतिअनुसार, सहिद सालिकलाई हाललाई तरकारी बजार कम्प्लेक्स भवनको अगाडि अस्थायी रूपमा स्थानान्तरण गरिनेछ।
चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई अस्थायी रूपमा सार्ने निर्णय गरिएको हो। सहमतिअनुसार, सडक निर्माण कार्य सम्पन्न भएपछि सहिद सालिकलाई पुनः साविककै स्थानमा व्यवस्थित ढङ्गले पुनर्स्थापना गरिनेछ।
लहान नगरपालिकाले सहिद सालिकको ऐतिहासिक र सांस्कृतिक महत्वलाई ध्यानमा राखी स्थानान्तरणको क्रममा सालिकको सुरक्षा तथा संरक्षणमा विशेष ध्यान दिइने जनाएको छ। स्थानीय तह, सरोकारवाला निकाय तथा नागरिक समाजसँग सहकार्य गरी अस्थायी व्यवस्थापन प्रक्रिया अघि बढाइने बताइएको छ।चार लेन सडक विस्तार सम्पन्न भएपछि लहानको यातायात प्रवाह सहज हुनुका साथै व्यापारिक तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया