धनुषाको जनकनन्दिनी-४ खजुरीमा झाडीभित्र फ्यालिएको नवजात शिशु फेला, अवैध सम्बन्धको आशंका

सैफुल्ला राइन ,खोज तलास खबर, जनकपुरधाम !धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका–४, खजुरीस्थित चन्हा टोल नजिकको झाडीभित्र आज बिहान एक नवजात शिशु फेला परेको छ। स्थानीय बासिन्दाले झाडीभित्र अस्वाभाविक आवाज सुनिएपछि हेर्दा शिशु फ्यालिएको अवस्थामा भेटिएको जानकारी दिएका छन्।

 

घटनास्थलमा पुगेका प्रहरी र स्थानीयको सहयोगमा शिशुलाई उद्दार गरी तत्कालै नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। प्रारम्भिक रूपमा शिशुको अवस्था सामान्य रहेको बताइएको छ।

स्थानीय बासिन्दाले शिशु अवैध सम्बन्धको परिणामस्वरूप जन्मिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्। “यसरी झाडीमा फ्यालिएको अवस्थामा भेटिनु दुःखद छ। यो कसैको गैरजिम्मेवारपूर्ण र अमानवीय व्यवहार हो,” एक स्थानीय समाजसेवीले बताए।

 

प्रहरीले शिशु कसले, कहिले, र किन फ्याल्यो भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाबारे थप जानकारी संकलन भइरहेको जनाउँदै प्रहरीले दोषी पहिचान गरी कानुनी कारबाही गरिने प्रतिवद्धता जनाएको छ।

 

 

यस घटनाले समुदायमा बालअधिकार, लैंगिक हिंसा तथा सामाजिक चेतनाको विषयमा गम्भीर प्रश्न उठाएको छ। स्थानीयबासीले यस्ता घटनाको पुनरावृत्ति रोक्न सकसपूर्ण सामाजिक संवाद र कानुनी कडाईको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार