
खोज तलास खबर, जनकपुरधाम ! सिरहाको मिर्चैया नगरपालिका–७ मा टिफरको ठक्करबाट एक जेष्ठ नागरिकको ज्यान गएको छ। मिर्चैया–कटारी सडकखण्डमा मंगलबार बिहान चुनढुङ्गा बोकेको बा.प्र. ०१–००४ क २९५३ नम्बरको टिफरले ठक्कर दिँदा ७० वर्षीय स्थानीय महेन्द्र महराको घटनास्थलमै मृत्यु भएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार ती वृद्ध सडक पार गर्दै गर्दा तीव्र गतिमा आएको टिफरले ठक्कर दिएको हो। ठक्कर यति जबरजस्त थियो कि घटनास्थलमै महराको ज्यान गएको जनाइएको छ।
घटनापछि टिफर चालक फरार भएका छन् भने प्रहरीले टिफर नियन्त्रणमा लिएर चालकको खोजी तीव्र पारेको जनाएको छ। यता, मृतक महराको शव पोष्टमार्टमका लागि लहानस्थित अस्पतालमा पठाइएको छ।
स्थानीय बासिन्दाहरूले दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
प्रतिक्रिया