
खोज तलास खबर, जनकपुरधाम ! धनुषा, झटियाही — मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले धनुषा जिल्लाको मिथिला हँसपुर नगरपालिका वडा नं. ९ स्थित तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयमा मंगलबार अनुगमन गरेका छन्।
अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक अवस्था तथा विद्यार्थीको उपस्थिति लगायतका विषयमा जानकारी लिएका थिए। विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीसँग संवाद गर्दै उनले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्।
“शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी बजेट, पूर्वाधार र स्रोत साधनको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको छ,” मुख्यमन्त्री सिंहले भने, “विद्यालयमा देखिएका समस्याहरू सम्बोधन गर्न हामी तत्काल पहल गर्छौं।”
विद्यालय अनुगमनको क्रममा मधेस प्रदेशका शिक्षा सम्बन्धी अधिकारीहरू, स्थानीय जनप्रतिनिधि तथा सामाजिक अगुवाहरू समेत सहभागी थिए।
स्थानीय बासिन्दाहरूले मुख्यमन्त्रीको अनुगमनलाई सकारात्मक रुपमा लिँदै विद्यालय सुधारमा यसको प्रभावकारी भूमिका रहने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया