जीवन कुमार राम, ५ जेठ
खोज तलास खबर, जनकपुरधाम ! सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुर नजिक आज दिउँसो एक यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने अर्को एक व्यक्ति गम्भीर घाइते भएका छन्।
राजबिराजबाट गोलबजारतर्फ जाँदै गरेको ना.४ ख. ६०६३ नम्बरको माँ शेराबाली यातायातको बस सुरुङ्गा नगरपालिका–६ स्थित श्रीपुर वडा कार्यालय जाने बाटो नजिकको कलभटमा पुगेको बेला अनियन्त्रित भई सडक किनारमा बसेका दुई जना पैदल यात्रीलाई पछाडिबाट ठक्कर दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
दुर्घटनामा परी खडक नगरपालिका–३ निवासी १५ वर्षीय सन्तोष कुमार पासवानको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, सोही दुर्घटनामा १६ वर्षीय अजय पासवान गम्भीर घाइते भएका छन्। उनी सुरुङ्गा नगरपालिका–८ निवासी रहेको प्रहरीले जानकारी दिएको छ।
घाइते अजय पासवानलाई तत्काल लहानस्थित सप्तऋषि अस्पताल लगिएको थियो। अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि बिराटनगरस्थित बिराट नर्सिङ होम रिफर गरिएको प्रहरीले जनाएको छ।
बसमा सवार केही यात्रुहरू पनि सामान्यरूपमा घाइते भएका छन्, जसको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरिएको बताइएको छ।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो र घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह प्रादेशिक अस्पताल, राजबिराज लगिएको छ।
स्थानीयवासीहरूले सडक सुरक्षाको विषयमा चासो व्यक्त गर्दै सवारी चालकहरूलाई सचेत हुन आग्रह गरेका छन्।




प्रतिक्रिया