खोज तलास खबर, जनकपुरधाम ! दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आइतबारदेखि ‘सधैं अन करोडपति’ योजना सुरु गरेको छ। १२ हप्तासम्म सञ्चालन हुने उक्त योजनाअन्तर्गत एनसेलका ग्राहकले १ करोड रुपैयाँ बराबरको बम्पर नगद पुरस्कार जित्ने मौका पाउनेछन्।
योजना अनुसार, प्रत्येक सातामा १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन्। साथै, योजनामा सहभागी हुने हरेक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवाजस्ता विभिन्न बोनस सुविधा प्राप्त गर्नेछन्। कम्पनीले योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रमा सञ्चालन गर्ने जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले योजना सार्वजनिक गर्दै मनसुनको अवसर पारेर दशकपछि यति ठूलो योजना ल्याइएको जानकारी दिएका छन्। उनले यो योजना ‘सधैं अन’ अभियानअन्तर्गत ल्याइएको भन्दै सहभागी सबैलाई बोनस उपलब्ध हुने भएकाले योजना सबैका लागि लाभदायक हुने दाबी गरे।
योजना अन्तर्गत सहभागी हुन ग्राहकले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक—लिनुपर्नेछ। हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गरेपछि ग्राहकले योजनाको एक वटा टिकट प्राप्त गर्नेछन्। त्यसैगरी ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा पाँच वटा टिकट प्राप्त गर्न सकिनेछ।
साथै, रिन्यूअल र रोमिङ सेवा खरिद गर्दा ग्राहकले दोब्बर टिकट पाउने व्यवस्था गरिएको छ। उदाहरणका लागि, सामान्यतया ९९ रुपैयाँको सेवामा १ टिकट पाइने भए पनि यदि त्यो सेवा रिन्यूअल वा रोमिङको हो भने २ टिकट प्राप्त हुनेछ। यो व्यवस्था ग्राहकको जित्ने सम्भावना दोब्बर बनाउने उद्देश्यले गरिएको एनसेलले जनाएको छ।
एनसेलले हरेक आइतबार साँझ ६ः३० देखि ७ः०० बजेसम्म एनसेल युट्युब च्यानल, एनसेल एप र कान्तिपुर टेलिभिजनमार्फत नगद पुरस्कार विजेताको घोषणा गर्नेछ। विजेता ग्राहकलाई सिधै सम्पर्क गरी नगद पुरस्कार हस्तान्तरण गरिनेछ।
एनसेलका अनुसार कुनै पनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन्। पोस्टपेड प्रयोगकर्ताले सक्रिय रूपमा मासिक सेवामा रहेर वा नयाँ सिम लिएर योजनामा सहभागी हुन सक्नेछन्। रिन्यूअलमार्फत सेवा लिने ग्राहकका लागि टिकट स्वचालित रूपमा जारी हुनेछ।
एनसेलको सेवा खरिद गर्न ग्राहकले *१२३# डायल गर्न, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टर जान, वा एनसेल एप तथा वेबसाइट प्रयोग गर्न सक्नेछन्। त्यसैगरी नेपालमा दर्ता भएका डिजिटल वालेट तथा बैंकिङ प्लेटफर्ममार्फत पनि सेवा खरिद गर्न सकिनेछ।
सेवा खरिदपछि ग्राहकलाई टिकट हेर्न मिल्ने लिङ्क एसएमएसमार्फत पठाइनेछ। साथै, *९९९९# डायल गरेर वा ‘९९९९’ मा १ वा २ लेखी एसएमएस गरेर पनि ग्राहकले आफ्नो टिकट संख्या जाँच गर्न सक्ने व्यवस्था गरिएको छ।
एनसेलले ग्राहकलाई योजना, टिकट र विजेतासम्बन्धी थप जानकारीको लागि *९९९९# डायल गर्न वा नजिकको एनसेल सेन्टर जान आग्रह गरेको छ। ग्राहकले www.ncell.com.np वा एनसेल एपमा पनि योजना सम्बन्धी सबै जानकारी प्राप्त गर्न सक्नेछन्।





प्रतिक्रिया