खोज तलास खबर, जनकपुरधाम ! सिरहाको गोलबजारमा एक युवतीले युवकमाथि छुरा प्रहार गरेकी छिन्। घटनामा परी एक युवक गम्भीर घाइते भएका छन्।
गोलबजार नगरपालिका–४ स्थित डेरामा बस्दै आएका वडा नम्बर १३ का २४ वर्षीय अशोक कुमार महतो छुरा प्रहारबाट घाइते भएका हुन्। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार ती युवती कोठामै पुगेकी थिइन् र त्यहीँ अशोकमाथि छुरा प्रहार गरेकी हुन्। उनको घाँटीमा प्रहार गरिएको छ।
घाइते महतोको अहिले स्थानीय भुमिजा अस्पतालमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको जनाइएको छ।
घटनापछि प्रहरी पुगेको थियो र आरोपी युवतीलाई नियन्त्रणमा लिइएको छ। हाल घटनाको विषयमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ र थप विवरण संकलन भइरहेको छ।




प्रतिक्रिया