खोज तलास खबर, जनकपुरधाम ! सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–२ मा घरायसी जग्गा विवादका कारण एक छोराले आफ्नै बाबुको हत्या गरेका छन्।
बुधबार बिहान ६० वर्षीय सचिव अन्सारीमाथि उनका छोरा मोहम्मद रियाज अन्सारीले छुरा प्रहार गरी हत्या गरेका हुन्। घटनापछि आरोपी रियाजलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी प्रहरी प्रमुख (एसपी) सुमनकुमार तिम्सिनाका अनुसार रियाजले बाबुलाई छाती र ढाडमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका अन्सारीलाई तत्काल विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार बाबु–छोराबीच जग्गा सम्बन्धी विवाद चलेको र त्यसैको कारण हत्या भएको देखिएको छ। यद्यपि, प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
एसपी तिम्सिनाले आरोपी रियाज अन्सारीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।
स्थानीयका अनुसार मृतक सचिव अन्सारी गाउँमा शान्त र मिलनसार स्वभावका व्यक्ति थिए। तर, परिवारभित्र सम्पत्ति बाँडफाँटका विषयमा लामो समयदेखि तनाव रहँदै आएको र अन्ततः यही विवादले हत्या जस्तो जघन्य अपराध निम्त्याएको हुनसक्ने अनुमान गरिएको छ।
प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।




प्रतिक्रिया