खोज तलास खबर, जनकपुरधाम ! जनकपुर — प्रादेशिक अस्पताल जनकपुरमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरी महिलाको मृत्यु भएको छ। सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर–१ सनचिरैया निवासी अर्चना कुमार मण्डलको बुधवार राति निधन भएको हो।
परिवारका अनुसार, करारमा नियुक्त चिकित्सकको लापरबाहीका कारण बच्चा जन्मेको तीन घण्टाभित्रै अर्चना मण्डलको मृत्यु भएको दाबी गरिएको छ। मृतकका श्रीमान् दीपेन्द्र मण्डलले अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको गुनासो गर्दै भने, “बच्चा जन्मिने समय पूरा भएपछि हामीले अस्पताल भर्ना गर्यौं र चिकित्सकको सल्लाहमा अप्रेसन गरायौँ। अप्रेसनले छोरी जन्माइयो, तर केही घण्टामै मेरी श्रीमतीलाई गुमाउनु पर्यो।”
तर, प्रादेशिक अस्पताल जनकपुरले भने चिकित्सकको लापरबाही नभई श्वासप्रश्वासमा समस्या देखिएपछि महिलाको मृत्यु भएको जनाएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जामुन प्रसाद सिंहले महिलाको मृत्यु श्वासप्रश्वासमा समस्या देखिनुको कारणले भएको बताए।
पीडित पक्षको मागअनुसार जनकपुर प्रहरीले सक्रियता देखाउँदै छानबिन समिति गठन गरेको छ। मृतक परिवारले पोस्टमार्टम गर्न अस्वीकार गरेपछि अस्पतालका मेसु सिंहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको छ। यस टोलीमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, मृतक परिवारका दुई जना प्रतिनिधि र एक विज्ञ रहने सहमति भएको जनाइएको छ।
हाल मृतक महिलाको पोस्टमार्टमको कार्य अघि बढाइएको छ।







प्रतिक्रिया