भदौ १६, लिवाङ । खोज तलास खबर, जनकपुरधाम ! रोल्पा जिल्लामा हालै सम्पन्न सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट सम्पूर्ण प्यानलले विजयी हासिल गरेको छ । यस निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनलाई हराउँदै माओवादी केन्द्रको नेतृत्वमा बनेको टोली विजयी भएको हो ।
जिल्ला सदरमुकाम लिबाङसहित रेउघा, थलिबाङ, मेबाङलगायतका क्षेत्रमा खानेपानी सेवा पु¥याउने जिम्मेवारी बोकेको रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समिति जिल्लाको महत्वपूर्ण संस्थामध्ये एक मानिन्छ । यही संस्थाको नेतृत्वका लागि शनिबार भएको निर्वाचन साँझ मतगणना सम्पन्न भएपछि अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार सुमन विक विजयी भएको घोषणा गरिएको हो ।
अध्यक्ष पदमा विकले ४०५ मत प्राप्त गर्दै कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार रामबहादुर बुढाथोकीलाई ६८ मतको अन्तरले पराजित गरेका हुन् । बुढाथोकीले ३३७ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता दामोदरप्रसाद सुवेदीका अनुसार जम्मा ९१० मतदाता रहेको समितिमा शनिबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान भएको थियो ।
मतदानमा ७९२ मत खसेकोमा २३ मत बदर भएको छ । अध्यक्षसँगै माओवादी केन्द्रकै प्यानलका अन्य उम्मेदवारहरु पनि विजयी भएका छन् ।
उपाध्यक्ष ः रेवती आचार्य,महासचिव ः अशोक आचार्य ,सचिव ः रुपसरा घर्तीमगर ,कोषाध्यक्ष ः शिला विक ,त्यस्तै सदस्य पदमा पनि सोही प्यानलका गीता घर्ती, दुर्गाप्रसाद शर्मा, दीपसरा बुढामगर, देवबहादुर कवर, रामी दमाई र रेशमबहादुर पुन निर्वाचित भएका छन् ।
मतगणना शनिबार राति करिब १२ बजे सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिएको थियो । परिणाम घोषणापछि विजयी टोलीले आइतबार बिहानै विभिन्न टोलटोलमा पुगेर मतदातालाई धन्यवाद दिएका छन् । अध्यक्ष सुमन विकले मतदातासँगको भेटमा भने, “हामी उपभोक्ताको हितका निम्ति काम गर्छौं । तपाईहरुले खबरदारी र सहयोग दुवै गर्नुस् ।”
उनले निर्वाचन प्रक्रियामा राजनीतिक प्रतिस्पर्धा भए पनि अब खानेपानी जस्तो आम जनजीवनसँग प्रत्यक्ष सम्बन्धित क्षेत्रमा कुनै दलगत पूर्वाग्रह राख्ने ठाउँ नरहेको बताए । उनले आफ्नो नेतृत्वमा निर्वाचित कार्यसमितिले उपभोक्तामुखी सेवालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
रोल्पा जिल्लामा खानेपानी आपूर्ति अझै पनि चुनौतीपूर्ण विषय बनेको छ । विशेषगरी सदरमुकाम लिबाङ र वरपरका बस्तीहरुमा मागअनुसार खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । स्थानीय बासिन्दाले यस संस्थाको नेतृत्वबाट व्यवस्थित, नियमित र स्वच्छ खानेपानी सेवा पाउने आशा गरेका छन् ।
“हामीले खानेपानी मात्र होइन, सरसफाइको क्षेत्रमा पनि ठोस कार्यक्रम ल्याउनेछौं । यस संस्थाको उद्देश्यलाई साझा र निष्पक्ष रूपमा अघि बढाउँछौं ।”
यस निर्वाचनलाई स्थानीय राजनीतिको दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको थियो । नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले बलियो प्रतिद्वन्द्विता देखाए पनि अन्ततः सम्पूर्ण प्यानलमा माओवादी केन्द्रकै उम्मेदवार विजयी भए । यसलाई धेरैले माओवादीको संगठनात्मक बल र स्थानीय जनसमर्थनको परिणामका रूपमा व्याख्या गरेका छन् ।
राजनीतिक प्रतिस्पर्धा कडा भए पनि मतगणना शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
मतदाताले विजयी टोलीसँग खानेपानी सेवामा सुधार, नयाँ पाइपलाइन विस्तार, वितरण प्रणालीको आधुनिकीकरण, मिटर व्यवस्थापनमा पारदर्शिता र सरसफाइ अभियानमा जनसहभागिता बढाउने अपेक्षा राखेका छन् ।
विजयी अध्यक्ष विकले पनि उपभोक्ताको अपेक्षा पुरा गर्ने प्रतिज्ञा गर्दै भने, “हामी सबै उपभोक्ताको साझा सरोकारका सवालमा एक भएर लाग्नेछौं । राजनीतिक भिन्नताले अब कामलाई असर पार्दन् ।
रोल्पा सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको यो निर्वाचनले स्थानीय नेतृत्व चयनमा जनताले माओवादी केन्द्रप्रति देखाएको विश्वास प्रष्ट पारेको छ । अब विजयी टोलीको प्रमुख चुनौती भनेको सो विश्वासलाई परिणाममुखी कार्यमार्फत प्रमाणित गर्नु हो । स्थानीयको प्राथमिकता स्पष्ट छ – नियमित, स्वच्छ र भरपर्दो खानेपानी सेवा, सरसफाइमा सुधार र पारदर्शी व्यवस्थापन ।







प्रतिक्रिया