जनकपुरमा लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी, लुटिएको SLR राइफलसहित दुई जना पक्राउ

खोज तलास खबर, जनकपुरधाम ! मधेश प्रदेशको जनकपुरधामस्थित लोकसेवा आयोगको कार्यालयमा भएको तोडफोड, आगजनी र हतियार लुटपाटको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

२०७९ भदौ २४ गते साँझ करिब ७ बजेको समयमा करिब ५० देखि ६० जनाको समूहले जनकपुर उपमहानगरपालिका–९ मा रहेको मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा आक्रमण गरेका थिए। समूहले चारपांग्रे गाडी, मोटरसाइकल, सीसीटीभी क्यामेरा र कार्यालयको संरचनामा तोडफोड तथा आगजनी गर्नुका साथै त्यहाँ सुरक्षार्थ खटिएको नेपाल प्रहरीको S.L.R राइफल (थान–१) र ५० राउण्ड गोली समेत लुटपाट गरी लगेका थिए।

 

घटनापछि प्रहरीले विभिन्न स्थानका सीसीटीभी फुटेजको विश्लेषण गरी संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र बनाएको थियो। अनुसन्धानकै क्रममा भदौ ३० गते बिहान करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बस्ने ३७ वर्षीय मनिष कुमार अधिकारी र राजकिशोर यादवका २१ वर्षीय छोरा सन्तोष कुमार यादव को साथबाट लुटिएको S.L.R राइफल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

हाल पक्राउ परेका दुबै व्यक्तिसँग थप अनुसन्धान जारी रहेको र अन्य संलग्नहरुको खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

प्रहरीले यस घटनालाई गम्भीर आपराधिक गतिविधिका रूपमा लिई अनुसन्धान अघि बढाइरहेको छ। यस घटनाले सार्वजनिक सम्पत्तिको सुरक्षा र राज्यका संवैधानिक निकायको मर्यादामा प्रश्न उठाएको भन्दै विभिन्न तर्फबाट घटनाको निन्दा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार