खोज तलास खबर, जनकपुरधाम ! धनुषामा झिझिया नाच हेर्न जाँदै गरेका तीन युवक सवार मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
कमला नगरपालिका वडा नं. २ माचि र वडा नं. ३ लगमाको बीचमा रहेको खोक्साहा पुलमा बिहीबार राति करिब १०:३० बजे भारतीय नम्बर प्लेट रहेको हिरो स्प्लेन्डर मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर जनकनन्दिनी गाउँपालिका वडा नं. ५ बनरझुलाका १८ वर्षीय अमित यादव र सोही स्थानका १६ वर्षीय कुश मिश्रको घटनास्थलमै मृत्यु भएको हो। मृतक यादव विक्रम यादवका छोरा हुन् भने मिश्र, देव मिश्रका छोरा हुन्।
घटनामा सोही स्थानका डोमा महतोका १७ वर्षीय छोरा राहुल महतो गम्भीर घाइते भएका छन्। उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
प्रहरीका अनुसार मोटरसाइकल अत्यधिक गति र मादक पदार्थ सेवन गरी चलाइएको कारण घुमाउरो सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटना हुलाकी राजमार्ग अन्तर्गतको माचि–लगमा खण्डमा भएको हो।
मृतकको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको छ र पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।






प्रतिक्रिया