धनुषामा पुरुष मृत फेला, पहिचान खुल्न सकेन

खोज तलास खबर, जनकपुर धाम ! धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका–८ लबटोली गोठटोलमा एक अज्ञात पुरुष मृतावस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार आइतबार उक्त पुरुषको शव कृषि फर्मको पर्खालदेखि करिब पाँच फिट पश्चिमतर्फ रहेको धानखेतको कुलोमा बगिरहेको अवस्थामा स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

 

प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का गरी करिब ४० देखि ४५ वर्ष उमेर समूहको पुरुषको शव फेला परेको जनाएको छ। मृतकको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन। शवलाई पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रदेश अस्पतालको शवगृहमा पठाइएको छ भने मृत्युको कारणबारे थप अनुसन्धान जारी छ।

 

प्रहरी निरीक्षक यादवले भने, “हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। यदि कसैले मृतकलाई चिनेका वा पहिचान गर्न सक्ने भए तत्काल इलाका प्रहरी कार्यालय ढल्केवरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।”

 

धनुषा प्रहरीले घटनाको पूर्ण जानकारीका लागि स्थानीयवासीको सहयोगको अपेक्षा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार