महिलाको विभत्स हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला

खोज तलास खबर, जनकपुरधाम ! रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको विभत्स ढङ्गले हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । स्थानीय शेख आदिलकी २५ वर्षीया पत्नी तरीमा खातुनलाई सोमबार राति हत्या गरी घरभित्रै लुकाएर गाडिएको अवस्थामा मंगलवार बिहान फेला पारिएको हो ।

 

स्थानीयवासीले घरबाट तीव्र दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले घरको पछाडिपट्टी रहेको भुसको थुप्रो हटाउँदै खोजतलास गर्दा भित्र खाडल खनेर लुकाइराखिएको अवस्थाबाट खातुनको क्षत–विक्षत शव बरामद गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् । घटनापछि खातुनका ससुरा शेख अली मोहम्मदसहित परिवारका सबै सदस्य डेढ वर्षीय नाती मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरीले जनाएको छ । दुराचारको आशङ्कासहित घटनालाई गम्भीर अपराधका रूपमा लिएर विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

 

फरार सम्भावित अभियुक्तहरूको खोजी तिव्र रूपमा जारी राखिएको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

यो घटनापछि गाउँभर त्रास फैलिएको छ । स्थानीयबासीले घटनाको उचित छानबिन र दोषीमाथि कठोर कारबाहीको माग गर्दै आन्दोलित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार