जीवन कुमार राम,कडरबोना
खोज तलास खबर, जनकपुरधाम ! सप्तरीको सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका एक सातादेखि सम्पर्कविहीन भएपछि घटनाले स्थानीयस्तरमा गम्भीर चिन्ता र आक्रोश सिर्जना गरेको छ। परिवारले किटानी जाहेरी दर्ता गराउँदै बालिकाको सुरक्षित उद्धार र निष्पक्ष छानबिनको माग गरेका छन्।
परिवार स्रोतका अनुसार बालिका विगत लामो समयदेखि स्थानीय महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। पछिल्लो समय उनी सात महिनाकी गर्भवती रहेको जानकारी बाहिरिएपछि ३० फागुनयता अचानक बेपत्ता बनाइएको दाबी गरिएको छ। गर्भावस्थाको विषय सार्वजनिक भएपछि उनलाई लुकाइएको वा अन्यत्र सारिएको हुन सक्ने आशंका परिवारले व्यक्त गरेको छ।
बालिकाकी भाउजूले दिएको उजुरीमा महेश्वर यादव, उनका छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव तथा धर्मदेव यादवलाई नामै किटान गरिएको छ। उनीहरूमाथि घटनालाई दबाउने प्रयास गरेको आरोप समेत लगाइएको छ। यद्यपि आरोपित पक्षबाट औपचारिक प्रतिक्रिया आएको छैन। घटनाबारे बुझ्न खोज्दा महेश्वर यादव घरमा नभेटिएको र वडा सदस्यको मोबाइलसमेत बन्द रहेको स्थानीयले बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार घटनापछि घरधनी पक्षले आफ्ना छोरालाई समेत अन्यत्र पठाएको चर्चा चलेको छ। बालिकामाथि लामो समयदेखि प्रलोभन वा दबाबमा यौन शोषण भएको हुन सक्ने आशंका गरिएको छ। तर, यसको आधिकारिक पुष्टि भइसकेको छैन।
यसबीच जनप्रतिनिधिहरूले पनि चासो व्यक्त गरेका छन्। वडाध्यक्ष किरणकुमार पोखरेलले दोषी जोसुकै भए पनि कानुनी कारबाहीबाट उम्कन नपाउने बताएका छन्। अर्का वडाध्यक्ष छत्रबहादुर राउतले घटनाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न ढिलाइ भए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले घटनालाई गम्भीरतापूर्वक लिइएको र खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। प्रारम्भिक रूपमा बालिकालाई उनकी दिदीले लगेको भन्ने सूचना प्राप्त भएको भन्दै प्रहरीले विभिन्न स्थानमा टोली परिचालन गरिएको जनाएको छ। बालिका फेला परेपछि स्वास्थ्य परीक्षण गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।
उजुरी सुरुमा इलाका प्रहरी कार्यालय कडरबोनामा दर्ता भए पनि क्षेत्राधिकारका कारण इलाका प्रहरी कार्यालय भेडियामा पठाइएको बताइएको छ।
घटनाको केही दिन बितिसक्दा पनि ठोस उपलब्धि सार्वजनिक नभएपछि स्थानीय दलित समुदाय आन्दोलित बनेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय कडरबोना अगाडि प्रदर्शन गर्दै पूर्व–पश्चिम लोकमार्ग केही घण्टा अवरुद्ध गरेका थिए। प्रदर्शनकारीले बालिकाको अवस्थाबारे तत्काल जानकारी दिन, दोषीमाथि कारबाही गर्न र निष्पक्ष छानबिन सुनिश्चित गर्न माग गरेका छन्।
मानव अधिकारकर्मीहरूले पनि घटनालाई संवेदनशील रूपमा लिन आग्रह गरेका छन्। उनीहरूका अनुसार यो विषय केवल बेपत्ता घटनामा सीमित नभई नाबालिगमाथि सम्भावित यौन शोषण र सामाजिक विभेदसँग जोडिएको हुन सक्ने भएकाले राज्य संयन्त्रले जिम्मेवार ढंगले अनुसन्धान अघि बढाउनुपर्ने आवश्यकता छ।
बालिकाको अवस्था अझै अज्ञात रहेकाले परिवार र समुदाय गहिरो चिन्तामा छन्। घटनाले कमजोर वर्गको सुरक्षा र न्याय सुनिश्चितताबारे पुनः प्रश्न उठाएको छ।




प्रतिक्रिया