
भीमनगर, २४ साउन ।
भरतपुर महानगरपालिका वडा नम्बर–२०, भीमनगरमा निर्माण सुरू गरिएको प्रदेशस्तरको उद्योग ग्रामको तयार नहुँदै पर्खाल ढलेको छ । ग्राममा आवश्यक पूर्वाधार तयार भएर सञ्चालनमा नआउँदै वर्षामा पानी जमेका कारण संरचनाहरु भत्कन थालेका हुन् ।
यसै आर्थिक वर्षमा तीन वर्षमा १९ करोड खर्च गरेर साना, लघु र मझौला उद्योग रहने गरी उद्योग ग्राम निर्माण थालिएको थियो । उद्योग ग्रामको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी थिइन् । छरिएर रहेका उद्योगलाई एकै ठाउँमा व्यवस्थित गरेर सञ्चालनका लागि साना, लघु र मझौला उद्योग रहने गरी थालिएको संरचना निर्माण कार्यमा यसवर्ष पर्खालको काम गरिएको हो ।
चार बिघा १० कट्ठा जमिनमा साना उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण संरचना निर्माण गरिने र यसै वर्षबाट संरचना निर्माणको काम थालिने भन्ने थियो । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले निर्माणपछि व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरपालिकालाई दिने योजना रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख यादवनाथ आचार्यका अनुसार यस आर्थिक वर्षमा पर्खालको कामका लागि १ करोड ८ लाख ५५ हजारमा बलदेव विल्डर्सले बोलपत्र सकार गरेको हो । ४३ दशमलब १० प्रतिशत कम रकममा ठेक्का कबोल गरिएको थियो । उद्योग ग्रामका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएको थियो ।
प्रतिक्रिया