डोटीमा कांग्रेस एक्लै चुनाव लड्छ : प्रदेश सभापति बलाय

 

सिलगढी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए । नेपाल प्रेस युनियन डोटीले बुधबार सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्ने बताएका हुन् ।

 

आसन्न निर्वाचनको तयारीका लागि गृहजिल्ला डोटी पुगेका बलायरले गठबन्धनमा रहेका अन्य दलका लागि कांग्रेस बलियो रहेको निर्वाचन क्षेत्र छाड्न नसकिने अडान दाेहाेर्याएका हुन्।

 

सत्ता गठबन्धनका तर्फबाट डोटीमा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेमगरले प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न इच्छा देखाइरहेका बेला सभापति बलायरको अभिव्यक्ति दोहोरिएको हो।

 

‘अहिले डोटी नेपाली कांग्रेसको एक नम्बर जिल्ला हो। एक नम्बर अवस्थामा रहेको जिल्लालाई छाडेर हामी ५० नम्बरमा भएको जिल्ला लिन चाहदैनौँ,’ उनले भने, ‘को निर्वाचन लड्ने त्यो पछिको कुरा हो। डोटीमा कांग्रेसले नेतृत्व लिनु पर्दछ। पात्र जोसुकै भए पनि कुनै संकोच छैन।’

प्रदेश सभापति बलायरले डोटीमा कांग्रेस बलियो भएका कारण अन्य सत्ता साझदार दलका लागि नेतृत्व छाड्न नसकिने जिकिर गरे।

 

‘डोटीका बारेमा हामीले के भनेका छौँ भने जुन जिल्लामा कांग्रेस कमजोर छ। हामी त्यो जिल्लाको नेतृत्व छोड्न तयार छौँ,’ उनले भने, ‘जहाँ हामी बलियो छौँ त्यहाँ छोड्न तयार छैनौँ।’

 

सत्ता साझेदार दलहरुको उद्देश्य नेकपा एमालेलाई हराउने हो भने चुनावी तालमेल पनि त्यस्तै खालको हुनुपर्नेमा जोड दिए।

 

‘हाम्रो मकसद एमालेलाई हराउने हो भने गठबन्धन पनि हराउने खालको हुनुपर्छ,’ बलायरले भने, ‘हामी गठबन्धन गर्ने अनि एमालेलाई जिताउने हो भने त्यो गठबन्धनको कुनै अर्थ हुँदैन।’

 

प्रतिनिधि सभाको टिकट कांग्रेसले पायो भने प्रदेश सभाको टिकट अन्य दललाई दिनसकिने सम्भावना के हुन्छ ? भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै सभापति बलायरले डोटी जिल्लाको कुनै पनि निर्वाचन क्षेत्र छोड्न नसकिने बताए । “पात्र जोसुकै भए पनि डोटीमा कांग्रेस एक्लै लड्ने छ । कसैलाई चुनाव लड्नु नै छ भने स्थानीय तहको जस्तै मित्रवत प्रतिस्पर्धा गरे हुन्छ, उनले भने ।”

प्रतिक्रिया

सम्बन्धित समाचार