अपूर्व क्षितिजविरुद्ध जाहेरी दिने कायस्थ भन्छन्- सहमति गर्छौं ! Khoj Talash Khabar

 

काठमाडौं, १९ भदौ

नेवार समुदायको भावनामाथि चोट पुर्‍याउने किसिमले व्यंग्य गरेको अभियोगमा एक सातादेखि थुनामा रहेका कमेडियन अपूर्व क्षितिज सिंहको परिवारसँग उनीविरुद्ध जाहेरी दिने अभियन्ताले छलफल थालेका छन् ।
जिल्ला प्रहरी परिसर, टेकुमा क्षितिजविरुद्ध किटानी जाहेरी दिने अभियन्ताको समूह र उनका परिवारबीच छलफल सुरु भएको हो । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा अभियन्ताहरुले आपत्ति जनाएका थिए । नेवार समुदायको आक्रोश बढ्न थालेपछि क्षितिजले युट्युबबाट भिडियो हटाएका थिए ।फेसबुकमार्फत माफी पनि मागेका थिए ।
‘मेरो मनसाय हँसाउने थियो, मैले नेवारी संस्कृतिबारे राम्रो कुरा पनि बोलेको छु जस्तो लाग्छ, भिडियोमा मैले आफैंलाई पनि उडाएको छु, सबै कुरा हसाउनलाई मात्र गरेको हो’ उनले भनेका थिए, ‘कसैलाई हासो नलाग्न पनि सक्छ, त्यसका लागि माफी माग्न चाहन्छु, कसैलाई चित्त दुखेको भए माफ गरिदिनु होला ।’
उनले सामाजिक सञ्जालबाट भिडियोहरु हटाइसकेको बताउँदै यसलाई त्यतिमै टुंग्याइदिन पनि अनुरोध गरेका थिए ।
तर सम्पदा संरक्षण महाअभियानको नेतृत्वमा अघिल्लो आइतबार १०४ जनाको हस्ताक्षरसहित जिल्ला प्रहरी परिसर, टेकुमा किटानी जाहेरी दर्ता भयो । सोधपुछका लागि बोलाइएका अपूर्व त्यहीं पक्राउ परे ।
अहिले सबै सामग्री हटाएर माफी माग्दा पनि थुनामा राखेको भन्दै उजुरीकर्ताहरुको आलोचना भइरहेको छ । क्षितिजको पक्षमा सामाजिक सञ्जालमा ट्वीट र स्ट्याटस लेख्ने अभियान नै चलेको छ । यसपछि उजुरीकर्ता र परिवारबीच छलफल सुरु भएको हो ।
अभियानका नेतृत्वकर्ता यादवलाल कायस्थले नेवार समुदायमा उनीप्रति आक्रोश बढेकाले सुरक्षार्थ पनि प्रहरी कार्यालय ल्याइएको दाबी गरे । ‘जनआक्रोश बढेको थियो, जे पनि हुनसक्छ भन्ने भयो’ कायस्थले  भने, ‘वास्तवमा उनको अभिव्यक्ति सुन्न लायक थिएन ।’
छलफलका क्रममा क्षितिजका बुबाले गल्ती भएको स्वीकारेको उनले बताए । ‘व्यङ्ग्यको नाममा कसैलाई गाली गर्न होच्याउन त पाइएन नि,’ उनी थप्छन्, ‘नेवार सभ्यता भनेको विश्वमा चिनिएको सभ्याता हो । योमाथि प्रहार गर्न पाइन्न ।’
सम्पदा संरक्षण तथा गुठी बचाउ अभियानमा सक्रिय अभियन्ता गणपतिलाल श्रेष्ठले अपूर्वलाई सच्चिने मौका दिनुपर्ने भन्दै कडा कारबाही आवश्यक नरहेको बताएका छन् । ‘समुदायलाई होच्याएर अपूर्वले गल्ती गरेकै हुन्, मान्छेबाट गल्ती हुन सक्छ,’ उनले भने, ‘तर उसले सच्चिएर कुनै बेला उसैको मुखबाट समुदायको राम्रो कुरा पनि सुन्न पाइयो भने त्यो राम्रो हो । कारबाहीमा कडाई गर्न खोज्दा अर्को गलत भावनाले प्रोत्साहन पाउन सक्छ ।’
कलाको अभिव्यक्तिमा स्वतन्त्रताको पक्षधर बने पनि भाषा, जाति, सम्प्रदाय, लिंगजस्ता विषयमा संवेदनशील बन्नु उपयुक्त हुने उनको भनाइ छ ।
जिल्ला प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार अहिले क्षितिजलाई अभद्र व्यवहारको कसूरमा थुनामा राखिएको हो । ‘बाहिर छलफल भइरहेको भन्ने सुनेको छ, उहाँहरुबीच सहमति भयो भने त्यही अनुसार प्रक्रिया अघि बढाउँछौं’ मैनालीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार