
दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ। भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि त्याहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो। विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भएको छ।
यसअघि पैदल यात्रु र दुई पाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो । वडाध्यक्ष धनाडीले भने, ‘अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आवतजावत गर्न सहज भएको छ।’
महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसंख्या छ। ‘महेन्द्रनगर सदरमुकाम आउन भारतको घुमाउरो बाटो प्रयोग गनुपर्ने बाध्यता हटेको छ’, दोधारा चाँदनीवासी आकृति कसेराले भनिन्, ‘अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन।
‘अहिले पुलबाट अस्थायी रूपमा दोधारा चाँदनी आवतजावत भइरहेको छ’, उनले भने, ‘पुलको पहुँच मार्ग र पोखरी निर्माण गर्न बाँकी छ।’ उनका अनुसार पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ भने ८१ प्रतिशत वित्तीय प्रगति भएको छ। ८०० मिटर लम्बाइ र २३.८ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने ६ किलोमिटर सडक कालोपत्र भइसकेको छ।
प्रतिक्रिया