अमर सुनार
दैलेख । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुबेदीले बदलिंदो परिस्थितिमा नजिकका चिने जानेका र छिमेकीहरुबाट व्यक्ति हत्या, बलात्कार जस्ता जघन्य अपराध घटना हुन थालेपछि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ ।
प्रदेशगत उत्कृष्ठ जिल्लाको आन्तरिक मूल्यांकनका लागि आइतवार कर्णाली प्रदेशको दैलेख पुग्नुभएका उहाँले नजिकैको व्यक्तिबाट सामान्य विवाद र इगोमा ठूलाठूला अपराध हुन थालेपछि समाजमै असुरक्षा बढेको जनाउनुभयो ।
एआईजी सुबेदीले आर्थिक कारोबार बिग्रँदा, सामाजिक रुपमा अपमान गरिएको सन्दर्भ जस्ता सामान्य कुराले ठूला अपराध हुन थालेकोले यस तर्फ सामाजिक सचेतना बढाउन आमसञ्चार माध्यमको सहयोग चाहिएको बताउनुभयो ।
फौजदारी मुद्दामा पीडित र सरकारी साक्षीको सुरक्षाको अभावमा अदालतमा होष्टाइल हुने गरेको सन्दर्भ बारे सोधिएको प्रश्नमा सामाजिक सञ्जालको दुरुपयोग, अनुसन्धानमा प्रहरीकै ज्ञान र साधनश्रोतको कमी, भौगोलिक विकटताले समेत बाधक रहेको उहाँले समस्या दर्शाउनुभयो ।
प्रमाणको संकलन, अतिपय घटनामा प्रयोगशालाको रिपोर्ट आउन ढिलाई लगायतका कारण पीडित र सरकारी साक्षीको सुरक्षाको अभावमा अदालतमा होष्टाइल हुने गरेको एआईजी सुबेदीले स्वीकार गर्नुभयो । ‘भरपर्दो साक्षी राख्ने, साक्षी र पीडितको संरक्षण गर्ने सामाजिक वातावरण समेत बनाउन नागरिक समाजले अगुवाई गर्नुपर्छ’ उहाँको भनाई थियो ।
एआईजी सुबेदीको टोली सातै प्रदेशका उत्कृष्ट जिल्लाहरुको आन्तरिक मूल्यांकन निम्ति कर्णाली प्रदेशको दैलेख जिल्लामा आउनुभएको हो । अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेशका १० जिल्लामा दैलेख उत्कष्ठा कार्य सम्पादन गरेको भन्दै पुरस्कृत भएको थियो ।
प्रहरी प्रधान कार्यालयले प्रदेशगत उत्कृष्ट जिल्लाहरु १ नं. प्रदेशको इलाम, मधेशको सर्लाही, बागमतीमा मकवानपुर, गण्डकीको स्याङ्जा, लुम्बिनीको कपिलबस्तु, कर्णालीको दैलेख सकेर सुदूरपश्चिमको कैलाली जिल्लाको आन्तरिक मूल्यांकन गर्न एआईजी सुबेदीको टोली खटाइएको छ ।
एआईजी सुबेदीको टोलीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी, एसएसपीद्वय भूपेन्द्र खत्री र अनुपम श्रेष्ठ लगायतको टोली सहभागी छ । टोलीले सातै प्रदेशका उत्कृष्ट छानिएका जिल्लाहरुको तुलनात्मक अध्ययन गरी नेपालभरकै उत्कष्ट जिल्ला छानिने बताइएको छ ।
प्रतिक्रिया