पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधिसभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्न नहुने चेतावनी दिएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले यस्तो बताएका हुन् । नेता आलेले कांग्रेसलाई लक्षित गर्दै यसअघि डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
तर डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्न नहुने उनको भनाइ थियो । उनले स्थानीय तह निर्वाचनमा आफूहरूले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतका आधारमा नेपाली कांग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताएका थिए ।
स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरूको ध्यानाकर्षण भएको पनि उनले बताए । ‘मेरो जिल्लामा पनि नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरू गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन । ७७ जिल्लामै गठबन्धन हुनु भएन । यदि गठबन्धन हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले हिजो संसदीय दलको बैठकमा पनि पार्टी अध्यक्षज्यूलाई जानकारी दिएको छु ।
उनले आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउनेगरी लाग्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका थिए
प्रतिक्रिया