
काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि बुधबार (आज) देखि आचारसंहिता लागू भएको छ। स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न १३ भदौमा राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता, २०७९ लाई निर्वाचन आयोगले लागू गरेको हो।
निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिताको सम्पूर्ण व्यवस्था कार्यान्वयन गर्न र गराउन आयोगले मंगलबार सरोकारवाला पक्ष दलहरु, सरकार, संवैधानिक निकाय, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षण संस्था, सञ्चारमाध्यम, शिक्षक, बैंक तथा वित्तीय संस्था र आममतदातालाई निर्देशन तथा आग्रह गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आचारसंहिता लागू गर्न दलहरुलाई ६० बुँदे निर्देशनसमेत दिइएको छ।जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन्। तर, आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार जान भने मन्त्रीहरूलाई छेक्ने छैन। सरकारी कर्मचारी, सार्वजनिक संस्थानले कुनै दलको पक्ष वा विपक्षमा लाग्न पाउने छैनन् भने कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ।
आयोगको मंगलबारको बैठकले निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न भनेको छ। दर्ता भएका दलहरूले निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई उम्मेदवार दिन वा प्रचारप्रचार गर्न, मतदानको अधिकारबाट वञ्चित गराउन, हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्न पाउने छैनन्।
राजनीतिक दलहरूले प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ भने प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन्। दलहरूले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ। आयोगको अनुमतिपछि मात्र हेलिकप्टर प्रयोग गर्न पाइनेछ।
प्रतिक्रिया