मोरङका ४ निर्वाचन क्षेत्र कांग्रेसको भागमा, माओवादीलाई कति ? Khoj Talash Khabar

विराटनगर । मोरङका ६ मध्ये दुई संघीय निर्वाचन क्षेत्र गठबन्धन दल नेकपा माओवादी केन्द्रले प्राप्त गर्ने भएको छ । मोरङ ४ कांग्रेस आफूले राखेर अन्यत्र कतैको क्षेत्र माओवादीलाई दिन आग्रह गरे पनि माओवादी अडानका कारण त्यो क्षेत्र उसकै भागमा पर्ने भएको हो ।

नेपाली कांग्रेस मोरङका जिल्ला सभापति डिगबहादुर लिम्बूले मोरङमा निर्वाचन क्षेत्र नम्बर ४ र ५ माओवादीले प्राप्त गर्ने जानकारी दिएका छन् । “यो विषयमा लगभग सहमति भइसकेको छ । पहिले जसले जुन क्षेत्र जितेको थियो यो पटक पनि उसैले प्राप्त गर्ने भन्ने नै हो,” लिम्बूले भने ।

 

क्षेत्र नम्बर ४ मा ०७४ को निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका थिए । मोरङ ५ मा माओवादीकै शिवकुमार मण्डल विजयी भएका थिए । ती दुबै क्षेत्रमा अहिले पनि कांग्रेसले दाबी भने छाडेको थिएन ।

४ नम्बर क्षेत्रमा कांग्रेसका नेता महेश आचार्यले अन्तिम पटक आफू नै उठ्ने भन्दै चुनावी अभियान संचालन गरिरहेका छन् । ५ नम्बर क्षेत्रमा नेता अमृत अर्यालले दाबी गरेका थिए । अर्यालको नाम दुबै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस भएको थियो ।

नेकपा माओवादी केन्द्रका मोरङ इञ्चार्ज गोपी अछामीले आफूहरूले पहिले जितेको ठाउँ छाड्न नसक्ने भन्ने पहिल्यैबाट अडान राखेको बताउँदै भने, “जुन क्षेत्र जसले जितेको हो उसैले लिने भन्ने पहिल्यै तय भएको हो ।”
यता, मोरङ ५ मा भने आफूहरूको जनाधार राम्रो भएकाले त्यो क्षेत्र प्राप्त गर्नुपर्ने जसपाले दाबी छाडेको छैन । पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादवले गठबन्धनबाट आफूहरूले टिकट नपाए एकल रुपमा उमेदवारी दिने बताएका छन् । यसअघिको निर्वाचनमा यादव तेस्रो भएका थिए । दोस्रो बढी मत कांग्रेसका अमृत अर्यालले प्राप्त गरेका थिए ।

पार्टी सभापति लिम्बूका अनुसार अब कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ६ प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार