विनोद मण्डल असाेज १६ । मधेशको प्रचलित लोक नृत्यमध्ये झिझिया तान्त्रिक विधिअनुसार घटस्थापादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य मधेशका बिभिन्न गाउँ वस्तीमा यतिबेला चलिरहेको छ ।
तान्त्रिक विधि अनुसार सन्तान र समाजको सुरक्षाका लागि झिझिया नृत्य गर्ने गरिएको जनविश्वास छ भने अर्कोतिर जादु, टुनामुना, बोक्सी आदिको प्रभाव कम गर्न प्वाल पारिएको घैटामा दियो कलश राखेर महिला दिदी बहिनीहरूले टाउकोमा राखेर बेलुका घर घर गएर नाच्ने परम्परागत नृत्य हो ।
झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा नाचिन्छ । झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो ।
बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ । मन्त्रिएपछि महिलाहरुको टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो बलिरहेको घैँटो राखेर बिना हातको सहारा लिई नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले डीहिवारको पूजा गरेर नृत्य गर्ने गर्दछन् ।
ब्रह्मस्थानमा नृत्य गरे लगत्तै झिझिया औपचारिक रूपमा सुरु हुन्छ । त्यसपछि घर घरमा गएर नृत्य देखाउने परम्परा रहेको छ ।
प्रत्येकको घर–घरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा चामल दाल सहयोग दिने चलन छ ।
यो नृत्य सातौँं शताब्दीदेखि सुरु भएको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् । पछिल्लो समय यसको मौलिकता हराउँदै सामूहिक रूपमा दूर्गा मन्दिर परिसरमा आयोजना गरेर यो नृत्य देखाउन थालेको पाईन्छ ।
टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ । महिलाको टाउकामा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्न सफल भयो भने नाच्ने महिला ठहरै हुने जनविश्वास छ । त्यसकारण सो घैँटो टाउकामा राखी जादु, टुनामुनाबाट मुक्ति पाउनका लागि परम्परागत रूपमै नृत्य गरिने गरिन्छ । श्रोत सामाजिक सञ्जाल
प्रतिक्रिया