काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ ।
बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन छन् । अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका छन् ।
सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरेको थियो । त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।
जसपा नेताहरका अनुसार सत्ता गठबन्धन फुटाउने शर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार देखिएको छ । ‘प्रदेश २ मा जसपा र देशभरमा एमाले पहिलो पार्टी हुने गरी आजै सहमति हुनसक्छ’, एमालेका एक नेताले बताए ।
गठबन्धनमा जसपालाई १६ सिट प्रस्ताव गरिएको छ । जसपाका एक नेता भन्छन्, ‘हाम्रो प्राथमिकता गठबन्धन नै थियो, तर कहाँ १६, कहाँ २५ सिट ।’ गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुनसक्ने दुबै दलका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया