पत्रकार निष्कासन गर्न खोजिएपछि रासस व्यवस्थापनविरुद्ध धर्ना ! Khoj Talash Khabar

 

वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवी पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले शुक्रवार रासस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

 

पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवी पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी/ करार/ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरूको सहभागितामा राससमा धर्ना दिइएको हो ।

 

धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारविरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिए । उनले छिट्टै बैठक बसेर महासंघकै नेतृत्वमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीवीको मुद्दा स्थापित गरेरै छाड्ने स्पष्ट पारे । महासचिव पुरीले महासंघका पुर्वअध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवी पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नवीकरण गर्न माग गरे ।

 

श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघको पुर्वअध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताए ।

 

नेपाल पत्रकार महासंघ अगुवाइमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवी पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रीय कार्यालयमा शुक्रवार दिउँसो १ देखि ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो । राससका अस्थायी/करार/ज्यालादारी पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउन थालेपछि  आन्दोलनको घोषणा गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार