नेपालबाट घरेलु कामदार लैजान कतारको दबाब, कामदार नलैजानेसम्मको चेतावनी

 

कतारले घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्न नेपाललाई दबाब दिएको छ । आफ्नो देशमा घरेलु कामदारको अभाव चर्किएपछि कतारले नेपालबाट घरेलु कामदार लैजाने खोजेको थियो । तर, नेपालमा २०७३ सालदेखि नै घरेलु कामदार पठाउन प्रतिबन्ध छ ।

 

कतारले विभिन्न प्रलोभन देखाउनेदेखि लिएर कामदार रोक्नेसम्मको धम्की नेपाललाई दिएको हो । कतारमा अहिले साढे ३ लाख भन्दा बढी जना घरेलु कामदारको माग छ । त्यो माग परिपूर्ति गर्न कतारले म्यानमार, फिलिपिन्स लगायतका देशबाट कामदार लगिरहेको छ । कतारमा अन्य क्षेत्रमा कामदार पठाइरहेको नेपाललाई घरेलु क्षेत्रमा पनि कामदार पठाउन आग्रह गर्दै आएको हो । यसका लागि कतारले विभिन्न अफरदेखि धम्कीसमेत दिने गरेको छ ।

 

जनवरी २०२१ मा नेपाल र कतारको संयुक्त कमिटीको बैठक बसेको थियो । जसमा कतारले घरेलु कामदार पठाउन आग्रह गरेको थियो । त्यसपछिको भेटघाटको क्रममा पनि कतारले घरेलु कामदारको विषय पटक-पटक उठान गर्दै आएको थियो ।

 

कतारले नेपाललाई घरेलु कामदार पठाउन र त्यसका लागि जे जस्तो सर्त अघि सारेपनि मान्न तयार रहेको धारणा राख्दै आएको छ । ‘हामीलाई घरेलु कामदारको अभाव छ । तपाईंहरूले पठाइदिनुपर्‍यो । त्यसका लागि हामीले जे जस्तो काम गर्नुपर्ने हो त्यो गर्छौँ भन्ने कतारको तर्फबाट आयो,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले भने ।

 

तर स्रोत भन्छ – फकाउँदा समेत नेपालले कुनै प्रतिक्रिया नदिएपछि कतारले धम्कीको भाषा प्रयोग गर्न थालेको हो । ‘कामदारको सुरक्षाको प्रत्याभूति गराउनेदेखि लिएर उनीहरूलाई सीप दिने समेत हामी गर्छौँ भन्नुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘आग्रह गर्दा नभएपछि उहाँहरूले नेपालबाट अन्य क्षेत्रका कामदारलाई रोक लगाउनेसम्मको कुरा गर्नुभयो । सुरुमा फकाउनुभयो, पछि गइरहेका कामदारमाथि असर पर्न सक्छ भन्ने कुरा आयो ।’

 

कतारमा हाल साढे ४ लाख भन्दा बढी नेपाली श्रमिक कार्यरत छन् । हरेक वर्ष २० देखि ३० हजारको सङ्ख्यामा कामदार कतार गइरहेका छन् । कतारलाई नेपालीले प्रमुख श्रम गन्तव्यका रूपमा लिने गरेका छन् ।

 

पटक पटकको अनुरोधलाई नेपालले बेवास्ता गर्दै आएपछि कतारले घरेलु कामदारको लागि आवेदन नै आह्वान गरेको छ । कतारको आन्तरिक मन्त्रालयले एक सूचना जारी गरेर नेपालबाट महिला र पुरुषलाई आवेदन दिन आह्वान गरेको छ । यस विषयमा श्रम मन्त्रालयले खासै चासो दिएको छैन । मन्त्रालयका सहायक प्रवक्ता डा. भुसालले यो उनीहरूको आन्तरिक विषय भएको बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार