
पोखरा – विभागीय नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा लगातार दोस्रो जित निकाल्दै समूह विजेता बनेर क्वाटरफ़ाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा पुलिसले लुम्बिनीमाथि २५–१२, २५–८ र २५–२१ को सोझो सेटमा जित निकाको थियो ।
यस जितसँगै पुलिसले समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्यो । यो समूहमा कर्णाली र लुम्विनीले अंकको खाता खोल्न सकेको छैन । अब यि दुई टोलीमा सफलता आत पार्ने टोली समूह उपविजेताको रुपमा अघि बढ्नेछ ।
समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई २५–१२, २५–१९ र २५–२३ को सोेझो सेटमा जित निकालेर विजयी सुरुवात गरेको छ ।
यस्तै समूह ‘सी’ मा नेपाल एपिएफ क्लबले गैर आवासिय नेपाली संघ (एनआरएनए) लाई २५–१९, २५–१५ र २५–१३ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
पुरुषतर्फ शुक्रबारै बागमती प्रदेशलाई ३–१ को सेटमा हराएर गण्डकी प्रदेश समूह ‘डी’ को विजेता बनेको छ । हारका बावजुत बागमती पनि क्वाटरफाइनलमा पुगेको छ ।
पुरुष भलिबलमा ११ टिमले सहभागिता रहेको छ । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
प्रतिक्रिया