प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा ६७औं प्रहरी दिवस २०७९ सम्पन्न ! Khoj Talash Khabar

 

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच ६७औं प्रहरी दिवस २०७९ सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो । विशेष समारोहमा प्रधानमन्त्री देउवाले ‍अवकास प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहलाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०७९” को लोकार्पण समेत गर्नुभयो ।

 

समारोहमा प्रधानमन्त्री देउवाले अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ का अमर प्रहरी हवल्दार हेमन्त बहादुर जिसीको छोरी रञ्जु जिसी र दाङ घोराही उपमहानगरपालिका-१५ का अमर प्रहरी जवान निमशरण थापाको छोरा सन्दिप थापालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार छात्रवृत्ती प्रदान गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धानको क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गर्नुभयो ।

 

समारोहमा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०७९ अन्तर्गत अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन (Police Baton) २०७९ तर्फ सर्वोत्कृष्ट हुन सफल १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई प्रहरी व्याटन प्रदान गर्नुभयो ।

 

विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले स्थापना काल देखि विभिन्न आरोह-अवरोहबीच शान्ति, सुरक्षा र सुव्यवस्था कायम गरी राष्ट्र र नागरिक सेवामा कटिवद्ध नेपाल प्रहरीको योगदान अत्यन्त उल्लेखनीय रहेको बताउनुभयो । आपत-विपत् परेका, निर्वल, अशक्त, असहाय, जोखिममा परेका, अपराधबाट पीडित व्यक्तिहरूको साथी नेपाल प्रहरी भएकोले समस्त नागरिकको विश्वास र भरोसाको केन्द्र बनि गौरवमय र महत्वपूर्ण कार्यसम्पादन गर्न निर्देशन दिँदै प्राकृतिक तथा मानव सिर्जित विपद्हरूमा नागरिक सेवामा पहिलो पङ्क्तिमा रहेर प्रहरीले हालसम्म निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

 

 

 

६७औं प्रहरी दिवस २०७९ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहत समेतमा विविध कार्यक्रमहरुका साथ मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार