मधेश प्रदेश: पाँच वर्षमा ५५ विधेयक पारित ! Khoj Talash Khabar

मधेस प्रदेश प्रदेशसभाको पाँच वर्षको अवधिमा ९ वटा अधिवेशनबाट ५५ वटा विधेयक पारित भएका छन् ।

 

आज आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशका सभामुख सरोजकुमार यादवले पाँच वर्षमा प्रदेशसभाको ९ वटा अधिवेशनमा २ सय २८ बैठक, ३ सय ११ घण्टा १८ मिनेट ५६ सेकेन्ड सभा सञ्चालन भएको र प्रदेश सभामा दर्ता भएको ६१ वटा विधेयकमध्ये ५५ वटा पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भएको जानकारी दिनुभयो ।

 

पारित हुन बाँकी ६ वटा विधेयक विचाराधीन अवस्थामा प्रदेश सभा सचिवालयमा रहेको उहाँले बताउनुभयो ।

 

प्रदेश सभाको पहिलो बैठकबाट प्रदेश सभा कार्य सञ्चालन आन्तरिक कार्यविधिको रूपमा ‘प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५’ पारित गरी सभाको सञ्चालन एवम् कामकारबाही व्यवस्थित हुँदै आएको सभामुख यादवले जानकारी दिनुभयो ।

 

विचाराधीनमध्ये ५ वटा विधेयक विभिन्न समितिमा छलफल गरी प्रतिवेदन सभामा पेश गर्ने अवस्थामा रहेको भए पनि नवौं अधिवेशन अन्त्य भइसकेकोले उक्त प्रतिवेदन सभामा पेश हुन नसकेको सभामुखले बताउनुभयो ।

 

प्रदेशसभाले सरकारको ६ वटा नीति तथा कार्यक्रम, ६ वटा बजेट र दुई पटक विश्वासको मतको सम्बन्धमा छलफल गरी निर्णय गर्नुका साथै यसै अवधिमा प्रदेशको राजधानी र नामको प्रस्ताव २०७८ माघ ३ गते दुई तिहाइ भन्दा बढी मतले पारित भएको जानकारी दिनुभयो ।

 

सभामुख यादवले प्रदेशसभाको आफ्नो र सुविधा सम्पन्न भवन नभएका कारणले कोरोना महामारीपछि प्रदेश सभाको बैठकमा पत्रकार तथा सर्वसाधारणलाई प्रवेश गराउन नसकिएको स्वीकार गर्दै नयाँ भवनको निर्माण भएपछि सबै कुरोको व्यवस्था हुने बताउनुभयो ।

 

नेपालको संविधान जारी भएपछि २०७४ साल मङ्सिर १० र २१ गते सम्पन्न प्रदेश सभा निर्वाचन पश्चात् निर्वाचित भएका प्रदेशसभा सदस्यको २०७४ साल माघ ७ गते शपथ भएर सोही महिनाको २१ गते प्रदेश सभाको पहिलो बैठकबाट प्रदेश सभाको कार्य थालनी भएको सभामुख यादवले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार