पोखरा – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।
पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमान बनाएकी थिइन् । त्यसबेला लक्ष्मीले ४५.२७ मिटर कीर्तिमान राखेकी थिइन् ।
आर्मीकी लक्ष्मी थारु ४५.५६ मिटर कायम गर्दै रजतमा सिमित भइन् । त्यस्तै एपिएफकी सिमा कुमारी थारुले ४५.२० मिटर टाढा फाल्दै तेस्रो स्थान हासिल गरिन् ।
पुरुषतर्फ ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जिते । उनले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्दा एपिएफका रमेश पोखरेलले ५५.४३ मिटरका साथ रजत र मनोज डगौराले ५३.३९ मिटरका साथ कास्य पदक जिते ।
बुधबार नै ४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जिते । थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत तथा एपिएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य प्राप्त गरे ।
प्रतिक्रिया