
म्याग्दी :
हिमाल, पहाड, तराइ कोही छैन पराइ’ यो भनाइ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न महिला भलिबल खेलमा सत्य सावित भयो।
हरेक किसिमका खेलाडीलाई घरेलु मैदान सहज हुन्छ। मैदानको चारैतिर छरिएका समर्थकको ‘हुटिङ’ले खेलाडीको उत्साह बढाउँछ। प्रतिस्पर्धात्मक खेलमा त हुटिङकै कारण पनि खेलमा हार जितसम्म हुन्छ।
म्याग्दीको सदरमुकाम बेनीमा आयोजित भलिबल प्रतियोगितामा त्यस्तो देखिएन। प्रतियोगितामा कमजोर खेल प्रर्दशन गरेका मधेश, सुदूरपश्चिम र प्रदेश १ का खेलाडीलाई दर्शकले हुटिङ गरी हौसला बढाइरहेका थिए। उद्घाटन खेलमा गण्डकी प्रदेशले लगातार सोझो तीन सेटमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै विजयी बन्यो।
गण्डकी प्रदेशकी कप्तान अरुणा शाहीसहित पाँच खेलाडी घरेलु मैदानमा खेले पनि भलिबल प्रेमीले खेलमा सुदूरपश्चिमका खेलाडीलाई साथ दिए। ‘लिक कम नकआउट’का सबै खेलमा कमजोर खेल देखाएको सुदूरपश्चिमका खेलाडीले खेल अवधिभर दर्शकको समेत धेरै माया पाए। पहिलो चरणमा सशस्त्र प्रहरी बल (एपिएफ) को खेलमा दर्शकले कर्णालीलाई साथ दिए।
सुदूरपश्चिमजस्तै मधेशबाट पहाडमा उक्लिएका खेलाडीलाई आयोजकले नाम लिएपछि उनीहरूको हौसला बढाउन दर्शकले नामै लिएर हौसाएका देखिन्यो। क्वार्टफाइनलबाट सेमिफाइनलमा प्रवेश गर्ने खेलमा गण्डकी प्रदेश र प्रदेश नं १ बिचको खेलमा समेत उस्तै दृश्य देखिएको थियो।
विगागीय टोलीसँगै कमजोर खेल खेले पनि सुदूरपश्चिम, कर्णाली, प्रदेश १, लुम्बिनी र मधेश प्रदेशका खेलाडी दर्शक र स्थानीय आयोजकको मायाले निरास देखिँदैनथे। दर्शकबाट प्राप्त हौसलाले खेलाडी तथा प्रशिक्षक खुसी थिए। खेलपछि मैदानमा आयोजक, स्वयंसेवक र दर्शकले समेत विभागीय टोली, राष्ट्रिय खेलाडी बाहेक पहिलोपटक भलिबलको राष्ट्रिय खेलमा डेब्यू गरेकासँग तस्विर लिन र कुराकानी गर्ने गरेका थिए।
प्रतियोगितामा राम्रो खेलाडीलाई सम्मान र नयाँ र पहिलोपटक राष्ट्रिय खेल खेल्दै गरेका उमेरले २० वर्षमुनिका खेलाडीको पक्षमा समर्थन गर्ने बढी भेटिए। लिग र क्वार्टर फाइनलसम्मको खेलमा कमजोर खेल देखाउने प्रदेशका खेलाडीमा समर्थन बढी देखियो।
‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारासहित सुरू भएको खेलको उद्घाटन सत्रमै आयोजित प्रभातफेरीमा स्वागत र खेलमैदानमा दर्शकको मायाबाट उत्साहित भएको मदेश प्रदेशकी कप्तान प्रजुना थापाले बताइन्। ‘पहाडी क्षेत्रमा आएका खेल खेल्दा पाएको माया अविस्मरणीय छ, बेनीलाई सधै सम्झिन्छौँ’ थापाले भनिन्। उनले न्यानो स्वागत र खेलमा दर्शकको साथबाट पराजित भएपनि विजय भएजस्तै महशुस भएको बताइन्। उनले आफ्नै क्षेत्रका खेलाडीभन्दा धेरै मायाँ पाएर उत्साहित भएको बताइन्।
कर्णाली प्रदेशका प्रशिक्षक मोतिराम राम्टेलले प्रतियोगितामा पराजित भए पनि म्याग्देली दर्शक र स्थानीय ब्यवस्थापकको साथ र सहयोगले उत्साहित भएर फर्किएको बताए। ‘हाम्रो खेलाडीले म्याग्दीमा राम्रो साथ र समर्थन पाए, उनले भने, ‘यो खेलले जोडेको मिठो सम्बन्ध हो।’
उनले खेलमार्फत जोडिएको सम्बन्ध लामो र दिगो हुने बताए। यता घरेलु मैदानमै खेलिरहेका गण्डकी प्रदेशको टोलीमा रहेका म्याग्देली खेलाडीले समेत बाहिरी जिल्लाका खेलाडीले पाएको मायाले सकारात्मक सन्देश प्रवाह भएको बताएका छन्।
प्रतियोगितामा गण्डकी प्रदेशको कप्तान अरुणा शाही र नेपाल प्रहरीकी कप्तान कमला पुनको गृहजिल्ला म्याग्दी भए पनि दर्शकले कमजोर मानिएका प्रदेशका खेलाडीलाई दिएको साथ र सहयोगले समग्रमा खेलको जित भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए।
प्रतिक्रिया