आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले राष्ट्रिय जागरण अभियानको सुरुवात गर्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र कालापानी नेपाली भु–भागबाट निर्वाचनको शंखघोष गर्ने तयारी भइरहेको एमालेले जनाएको छ।
सुदूरपश्चिमको बैतडी र कञ्चनपुरबाट निर्वाचन प्रचारको काम १८ गतेबाट सुरु हुने गरी निर्वाचन लक्षित विभिन्न रणनीति अपनाएको छ। सुदूरपश्चिममा पहिलो पार्टी हुने गरी नीति, विचार र नेतृत्वको जगमा निर्वाचन लक्षित एजेण्डा सार्वजनिक गरिने तयारी भइरहेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताएका छन।
उनले भने, ‘गठबन्धन सरकारबाट जनता आजित भइसकेका छन्। विवादित निर्णयदेखि महँगीले दैनिकी चलाउनै मुस्किल भइरहेको अवस्थामा एमालेप्रति आस्था र भरोसा बढ्दै गएको देखिन्छ। प्रदेश र राष्ट्रिय स्तरमै एमालेको सरकार बन्ने गरी आगामी निर्वाचन केन्द्रित एजेन्डा सुदूरपश्चिमबाट उद्घोष गर्ने तयारी भइरहेको छ।’
निर्वाचनपछि सुदूरपश्चिममा एमालेको सरकार बन्ने उनको भनाइ छ। यता, नेकपा माओवादी केन्द्रले यसअघिका निर्वाचनभन्दा राम्रो मत परिणाम ल्याउने नेताहरूको दाबी छ। जिल्ला, जिल्लामा संगठन विस्तारसँगै माओवादी केन्द्र धेरै व्यवस्थित भइसकेकाले आगामी निर्वाचनमा माओवादीको आकार बढ्ने दाबी गरिएको छ।
गठबन्धनप्रति जनविश्वास बढ्दै गएकाले पनि माओवादीसँगै निर्वाचन लगत्तै सुदूरपश्चिममा गठबन्धनको सरकार बन्ने सत्ता गठबन्धनको दाबी छ। माओवादी केन्द्रको जिल्ला जिल्लामा संगठन विस्तार र व्यवस्थित पार्टीको रुपमा आफुलाई स्थापित गरिसकेकाले माओवादी केन्द्रले सहजै रुपमा अग्रपंक्तिमा आउने माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले बताए।
उनले भने, ‘एमालेसँग कांग्रेस एक्लै भारी देखिएको अवस्थामा सँगसँगै गठबन्धन र गठबन्धनप्रति बढ्दै गएको विश्वासले सुदूरपश्चिममा गठबन्धन नै पहिलो हुने निश्चित भइसकेको छ।’ यस्तै, एमालेभन्दा कांग्रेस एक्लै पनि भारी भएकाले ओलीप्रवृत्तिको अन्त्य यही निर्वाचनबाट हुने कांग्रेस नेताहरूको दाबी छ। ओलीको सर्वसत्तावादी चिन्तनलाई परास्त गर्न गठबन्धन बलियो भएर निर्वाचनमा केन्द्रित भएकाले सुदूरपश्चिममा मात्र नभएर ७ वटै प्रदेशमा गठबन्धनको सरकार बन्ने कांग्रेसको दाबी छ।
दुई दुई पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गरेर जनमत गुमाइसकेकोको एमाले पार्टीलाई जनताले विश्वास गर्न छोडेको नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए। उनले भने, ‘सर्वसत्तावादी ओलीको चिन्तनलाई परास्त पार्न गठबन्धन एक भएका कारण निर्वाचनपछि गठबन्धनकै सरकार बन्नेका कुनै शंका छैन्।’ निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा एमाले र सत्ता गठबन्धनले निर्वाचन लक्षित चुनावी योजना सार्वजनिक गर्ने तयारीमा छन्। थाहा खबर
प्रतिक्रिया