
आइसिसी टि२० विश्वकपमा आज नेदरल्यान्ड्सले उपाधिको प्रमुख दाबेदार भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ । भारत लगातार दोस्रो जितको सोचमा छ । नेदरल्यान्ड्स भारतसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने सोचमा हुनेछ ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेटले हराएको थियो । उक्त खेलमा विराट कोहलीले ८२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारत ३१–४ को अवस्थाबाट जित निकालेको थियो ।
कोहलीले ५३ बलमा ६ चौका र ४ छक्का हानेका थिए । हार्दिक पान्ड्याले ४० रन जोडेका थिए । पाँचौं विकेटका लागि कोहली र हार्दिकले १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । यी दुई खेलाडीको लयमा भारतले विशाल योगफल बनाउन सक्छ ।
भारतका ओपनर रोहित शर्मा, लोकेश राहुल र सूर्यकुमार यादव विष्फोटक ब्याटिङ गर्दै ठूलो इनिङ खेल्न चाहन्छन् । उनीहरु आफ्नो लय फर्काउन चाहन्छन् । पाकिस्तानलाई मध्यम योगफलमा रोक्न अर्शदीप सिंहले सानदार बलिङ गरेका थिए । अर्शदीप नेदरल्यान्ड्सका ब्याटरलाई घातक बन्नसक्छन् ।
भारतले अक्षर पटेलको स्थानमा हर्षल पटेललाई मौका दिनसक्छ । रविचन्द्रन आश्विनलाई बेन्चमा राखेर युजभेन्द्र चहललाई मौका दिनसक्छ । नेदरल्यान्ड्स कमजोर टोली हुँदा दीनेश कार्तिकको स्थानमा ऋषभ पन्तलाई मौका दिनसक्छ ।
यता नेदरल्यान्ड्स भारतसँग जित भन्दा पनि प्रतिस्पर्धात्मक नजितामा ध्यान दिनेछ । नेदरल्यान्ड्स पहिलो खेलमा बंगलादेशसँग ९ रनले पराजित भएको थियो । नेदरल्यान्ड्सका म्याक्स ओडाउड, स्कर्ट एडर्वाड्स, बास डि लिडे र कोलिन एकरम्यान भारतीय बलरलाई सरप्राइज दिन सक्ने ब्याटर हुन् ।
नेदरल्यान्ड्सले टि२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो । भारतसँग खेल्न पाउनु नै नेदरल्यान्ड्सका खेलाडीको सपना पूरा हुनेछ । विश्व स्टार ब्याटर र बलरबाट नेदरल्यान्ड्सका खेलाडी धेरै कुरा सिक्न खोज्नेछन् । भारत भने कीर्तिमानी जित र नेटरनरेटमा ध्यान दिनेछ । भारतलाई नेटरनरेट सुधार गर्ने राम्रो अवसर पनि हो ।
आजको पहिलो खेलमा बिहान ८: ४५ मा दक्षिण अफ्रिकाले बंगलादेशसँग खेल्दैछ । दिउँसो ४: ४५ मा पाकिस्तानले जिम्बावेसँग खेल्दैछ ।
अंक तालिका :
सुपर १२ को समूह ए मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २-२ अंक जोडेका छन् ।
नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।
यता सुपर १२ को समूह बी मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुबै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक विहीन छन् । हाम्रो खेलकुद
प्रतिक्रिया