
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहारको घटनालाई लिएर उनका समर्थकहरुले उनको हत्याको प्रयास भएको प्रतिक्रिया दिएका छन् । उक्त आक्रमणको अन्तर्राष्ट्रिय समुदायले यस घटनाको भर्त्सना गरेको छ ।
पाकिस्तानको उत्तर पूर्वी भागमा रहेको वाजिरावादमा एउटा विरोध ¥यालीमा भाग लिने क्रममा खुट्टामा गोली हानिएका ७० वर्षीय खानको अहिले उपचार भइरहेको छ । खानको समूहमाथि एक्कासी भएको गोली प्रहारबाट एकजनाले ज्यान गुमाएका छन् भने कम्तिमा अन्य १० जना घाइते भएका छन् । खानका समर्थकहरुले उनको स्वास्थ्य स्थिर रहेको र सम्भवत केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुने जानकारी दिएका छन् ।
क्रिकेटरबाट राजनीतिज्ञ बनेका खानलाई गत अप्रिलमा संसद्मा अविश्वासको प्रस्ताव पारित गरी सत्ताच्यूत गरिएको थियो । शुक्रबारको नियमित प्रार्थना सभापछि खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले विरोध आह्वान गरेको कारण राजधानी इस्लामावादका विद्यालयहरु बन्द भएका छन् ।
पाकिस्तानको राष्ट्रपति तथा पीटीआई पार्टीको संस्थापक सदस्य आरिफ आल्भीले यस आक्रमणलाई “दानवीय हत्या प्रयास”को संज्ञा दिएका छन् । खानका विपक्षी राजनीतिक नेताहरुले पनि यस आक्रमणको विरोध गरेका छन् । प्रधानमन्त्री शहवाज सरिफले यसबारे तत्काल छानविन गर्न आदेश दिएका छन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शान्त रहन आह्वान गर्दै भनेका छन्, “राजनीतिमा हिंसालाई कुनै स्थान छैन । र, हामी सम्पूर्ण राजनीतिक पार्टीलाई हिंसा, हस्तक्षेप र उत्पीडनबाट टाढै रहन आग्रह गर्दछौँ ।”
गोेलीकाण्ड लगत्तै खानका केही सहयोगीले यस आक्रमण पछाडि प्रधानमन्त्री सरिफ, गृहमन्त्री र एकजना सैनिक जनरलको हात रहेको खानलाई विश्वास भएको बताएका थिए ।
पार्टीका एकजना प्रवक्ता राउफ हसनले बीबीसीको न्युज आवरलाई सरकारले इमरान खानलाई भौतिक रुपमा अन्त्य गर्न खोजेको बताएका थिए ।
तर, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री राणा सानाउल्लाहले सो आरोप अस्वीकार गर्दै राज्यमा भएको सुरक्षा त्रुटिका लागि पन्जाब सरकार जिम्मेवार रहेको तथा आफूहरुले खानलाई शत्रु नभई एक राजनीतिक विपक्षीको रुपमा हेर्ने गरेको बताएका छन् ।
प्रतिक्रिया