नयाँ ठाउँमा उम्मेदवार बन्नुभएको छ । तपाईंको अभियान कसरी अघि बढ्दै छ ?
अहिले मतदाता कहाँ गइरहेका छौं । मतदातालाई आफ्नो एजेन्डा राख्ने, कुरा सुन्ने र मत माग्ने काम भइरहेको छ । मतदाताहरुले पनि नयाँ मुद्दासँगै नयाँपन खोजेको, युवा खोजेको अनुभव मलाई भइरहेको छ । मतदाताहरुको कुरा सुन्दा राजनीतिक विसंगतीबाट आजित भएको, राजनीतिले विश्वास गुमाएको, नेतृत्वले सम्मान गुमाएको स्थिति मैले पाएँ । राजनीतिलाई विश्वासिलो बनाउने र नेतृत्वप्रति आस्था र सम्मान जगाउने काम गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
भूगोलको हिसाबले तपाईं तनहुँको बासिन्दा, मतदाता पनि तनहुँकै हुनहुन्छ । प्रतिस्पर्धी उम्मेदवारले तपाईंलाई ‘टुरिस्ट’ उम्मेदवारको रुपमा चित्रण गर्दै आइरहेको अवस्था छ । यसलाई चिरेर अघि बढ्न तपाईंलाई कतिको कठिनाई भएको छ ?
नयाँ भन्न मिल्दैन । स्कुलदेखि नै यहिँ पढेको हो, अमृत साइन्स क्याम्पसको स्ववियूको सभापति भएको, नेविसंघको केन्द्रीय राजनीति गरेको, त्यसको ‘बेस’ काठमाडौं हो । कांग्रेसको केन्द्रीय तहमा रहेर काम गरेको सबै जोड्दा मैले ३३ वर्ष काठमाडौंमा बिताइसकेको छु । यो ठाउँ, परिभेष मेरा लागि नयाँ होइन । काठमाडौंमा चुनाव नै लड्ने गरी तयारी नभएको मात्रै हो । अहिले मौका प्राप्त भयो । धेरै दुर्गम नभएकाले सबै माझ जानसक्ने र विषयवस्तु पनि बुझेका कारणले मलाई नयाँ भएकै आधारमा चुनौती पटक्कै छैन ।
तपाईंको तयारी तनहुँमा थियो । नेता व्यवस्थापनको चेपुवामा पर्दा तपाईंलाई गृहजिल्लाबाट नभई काठमाडौंबाट टिकट दिईयो । यसले स्थानीय कांग्रेसमा भित्रभित्र असहयोगको अवस्था त छैन ?
टिकट सबैले पाउँदैनन् । नपाउने धेरै हुन्छन् । जहाँको टिकट लिँदा पनि सुरुमा अलिअलि प्रतिक्रिया भइहाल्छन् । यहाँ पनि थियो । तर, अहिले सबै सेटल भइसक्यो । साथीहरु पुरै मैदानमा जुट्नुभएको छ । आन्तरिक अन्तरविरोध छैन । नेपाली कांग्रेसको नेतृत्व स्थापित गर्नुपर्छ भनेर लाग्नुभएको छ । सूरुका अवस्था जे भनेर अनुमान गर्थें, त्यस्तो अवस्था नभएकाले मलाई सहज भएको छ । तर, समय थोरै भएकाले सबै मतदाता माझ कसरी पुग्ने भन्ने कुरा जटिल छ । त्यसका लागि फास्ट ट्र्याकमा कार्यक्रम बनाएका छौं ।
मतदातासँग तपाईंले राख्ने गुनासाहरु कस्ता छन् ?
काठमाडौंमा पनि मतदाता र जनप्रतिनिधिको भेट नहुने रहेछ । ‘तपाईं यसपटक भोट माग्न आउनुभयो, त्यसपछि अर्को चुनावमा आउने त होला, होइन ?’ भन्ने मतदाताहरुको प्रश्न पाएँ । चुनाव जिताएर पठाएपछि आफ्ना लागि सबै थोक गर्नुहुन्छ, हामीलाई वास्ता गर्नुहुन्न, हाम्रो समस्याहरु बुझ्नु हुन्न भन्ने ठुलो अविश्वास रहेको देखियो । मतदाताको त्यस्ता गुनासोलाई सम्बोधन गर्न केन्द्रमा हामीले नविन ढंगका कार्यक्रम र योजना अघि सारेका छौं । सांसद र मतदाताको संवाद स्थापित गर्ने, सांसद कोषको प्रयोग कसरी गर्ने ? नागरिक अगुवाको सहभागितामा समिति बनाउने, त्यसले छनोट गरेका योजनामा मात्रै बजेट हाल्ने गरी योजना अघि सारेका छौं ।
एउटा सांसद पारदर्शी हुन सकेन भने कसरी मुलुकमा सुशासन आउन सक्छ ? त्यसैले सांसद कोषको बजेटलाई सार्वजनिक रुपमा अडिट गर्ने, हामीलाई नै मूल्याकंन गर्ने र छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं । प्रत्यक्ष र भर्चुअल माध्यमबाट सांसद र जनताबीच संवादको योजना अघि सारेका छौं । त्यसका लागि डिजिटल रुपमा छुट्टै ‘एप्स’ विकास गर्ने, निर्वाचन क्षेत्रका सबै मुद्दा पहिचान गर्ने, समाधान गर्न सम्बन्धित निकायमा पैरवी गर्ने काम गर्ने वाचा गरेका छौं । राजधानीमा अहिलेपनि सात की.मी बाटो पिच गर्ने कुरा चुनावी मुद्दा छ । डेढ करोड बराबरको मेलम्चीको खानेपानी ट्यांकी छ, तर त्यसैको मुनी पानी छैन । पानी लैजाने कुरा चुनावी मुद्दा बनेको छ । ‘वान’ फेजको लाईन नाङ्गो भयो, कालो तार हाल्ने विषय मुद्दा छ । एकदमै साना–साना विषय पनि राजधानी जस्तो ठाउँमा चुनावी मुद्दा हुनु आफैंमा लाजमर्दो हो ।
यही निर्वाचन क्षेत्रमा सम्पन्न, शिक्षित मतदातादेखि सुकुम्बासी मतदातासम्म छन् । उनीहरुको चाहना र अपेक्षालाई सम्बोधन गर्न तपाईंका के कस्ता कार्यक्रम र योजना छन् ?
सम्पन्न मतदाता सुरक्षा चाहनुहुन्छ । पूर्वाधारको विकास चाहनुहुन्छ । गाडी हुनेलाई बाटो राम्रो चाहियो । राज्यलाई कर तिर्नेहरुले राज्यबाट पाउनुपर्ने सुविधा खोजीरहनुभएको छ । सँगै अव्यवस्थित र सुकुम्बासीको अवस्था उस्तै छ । अत्यन्तै गरिबीको अवस्था पनि देखिन्छ । पूर्वाधार विकास नभएर पछाडि परेको भूगोल पनि यस निर्वाचन क्षेत्र भित्र छ । एउटा सांसदसँग विकासको अपेक्षा पनि त्यतिकै छ, नीति, निर्माण गरेर राष्ट्रका विषयमा प्रखरता देखाओस् भनेर आशा गरेको स्थिति पनि उत्तिकै छ । दुवै खाले अपेक्षा रहेको छ । तर, सारमा सबै वर्गमा राजनीतिक दल र नेताप्रति निराशा छ ।
निर्वाचनका बेलामा भोट माग्न उम्मेदवारहरु जे पनि भन्छन् तर उनीहरुले भनेको कुरा सत्य हुँदैनन् भन्ने मनोविज्ञान छ । जनताको मत लिएर शक्तिशाली हुन्छन्, त्यसको दुरुपयोग गरेर आफ्नै निम्ति प्रयोग गर्छन् भन्ने बुझाइ छ। नेतृत्व गर्नेमा इमानदारिता छैन भन्ने कुरा आम रुपमा उठेको छ ।
तपाईंकै पार्टीले सकारको नेतृत्व गरिरहेको छ । भोली पनि यही नेतृत्व नै आउने सम्भावना प्रबल छ । ‘अहिले डेलिभर गर्न सकेनौं, भोली गर्छौं’ भनेर मत माग्दा मतदाताले पत्याउँछन् ?
धेरै ठूला सन्दर्भमा सरकार स्थायी पनि हुनुपर्छ, देशमा स्थायीत्व पनि हुनुपर्छ, बहुमत पनि हुनुपर्छ, भिजन, दृष्टिकोण, काम गर्ने शैली बदल्नुपर्छ । तर, जनताले खोजेका कुरा के हो भने क्षमता भएका मान्छेले स्वच्छ प्रतिस्पर्धा गरेर अवसर पाउनुपर्छ, अवसरबाट वन्चित हुन भएन । दोस्रो कुरा, नियम र कानूनले दिएको काम फटाफट हुनुपर्यो । कसैसँग भनसुन गर्न नपरोस् । राज्यलाई कर तिरेपछि भौतिक पूर्वाधार व्यवस्थित होस् । सुशासन कायम होस् । भ्रष्ट्राचारको अन्त्य होस् । सबैभन्दा बढी चाहेको विषय यति नै हुन् । जे कुरा राज्यले दिनुपर्ने हो, त्यति पनि पुरा नभएकाले असन्तुष्टि बढेको हो । मेरो पार्टीको सरकारले पनि सामान्य विषय पनि पुरा गरेन होला, तर सच्चिएर जानुपर्छ । आम रुपमा राजनीतिक दल र यसको संचालनको विधि र नेतृत्वसँग असन्तुष्टि रहेको पाइन्छ । यसअघि निर्वाचित व्यक्तिप्रति असन्तुष्टि बढी छ । आम रुपमा बढेको अविश्वास घटाउन सक्नुपर्छ । त्यो भनेको काम गर्ने शैली र डेलिभरी नै मुख्य कुरा हो ।
तपाईंसँग प्रमुख प्रतिस्पर्धामा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल हुनुहुन्छ । वहाँ पार्टीको हेभिवेट नेता त हो नै अर्कोतर्फ स्थानीय तहमा पाएको मतमा पनि एमालेमा करिव ५ हजारले अघि छ । तपाईंलाई जित्न सहज हुने त देखिँदैन ।
हेभिवेट भनेको के हो ? बारम्बार मौका पाएर, ठूलो पोजिसनमा बस्ने आधारले मात्रै हेभिवेट हो कि, जनताको पक्षमा काम गर्ने र लोकप्रिय हिसावले हेभिवेट हुने हो ? म आफू त्यस्तो कुराले कतिपनि विचलित छैन । मुद्दाका हिसाबले, विगत जोडेर हेर्ने हिसाबले, अहिले प्रस्तुत गरिएका हाम्रा मुद्दासँग तुलना गर्ने हिसाबले हेभिवेट हामी नै हो । राजधानीका जनता कुनै पार्टीका मतदाता भइरहन्छन् भन्ने छैन । कुनै पार्टीको झण्डा समातेर त्यसैलाई सधैं भोट हालीरहन्छन्, चेतना हुँदैन, गल्ती गर्नेलाई पनि पार्टीको सम्बन्धका कारण स्वीकार गरिन्छ भन्ने लाग्दैन । चेतना छ, त्यसैले राजधानी हो । चेतना छ, त्यसैकारण विशिष्ट नागरिकको उपस्थिति छ भनेर मान्ने हो । चेतनाले विगतको अंकगणितलाई ख्याल गर्छ भन्ने लाग्दैन । त्यसो त नरहरी आचार्यले पनि दुई चोटी जित्नुभएको हो । अघिल्ला निर्वाचनमा जित्ने उम्मेदवारले जनतालाई सन्तुष्ट बनाउन सकेको छैन । बारम्बार गल्ती गरेको छ । त्यसबाट कसरी लाभ लिने भन्ने कुरा हो । अर्को कुरा प्रखर ढंगले विषय राखेका छौं । हाम्रो मुल नारा नै राजधानीलाई पनि सफा गर्छौं, राजनीतिलाई पनि सफा गर्छौं ।
कुन अर्थमा इश्वर पोखरेलभन्दा आफू भिन्न छु जस्तो लाग्छ?
विगत हेरौं । एकैचोटी म कांग्रेस पार्टीको टिकट लिएर आएको होइन, आन्दोलनमा मैले के गरें ? अरुले के गरे ? हिजो हामीले भूकम्पमा के गर्यौं, अरुले के गरे ? राजनीतिमा पनि हामीले वैकल्पिक विषयहरुको वकालत गर्यौं कि गरेनौं ? अहिले हामीले उठाइरहेका मुद्दाहरु यहाँका आवश्यकतासँग जोडिएका छन् कि छैनन् ? यी कुरा महत्त्वपूर्ण हुन् । राजनीतिमा बारम्बार अवसर पाइँदैन । एकपटक अवसर पाउँदा उसले के गर्यो ? जनताको विश्वास जित्न सक्यो कि सकेन भन्ने मुल प्रश्न हो ।
सांगठनिक रुपमा एमाले यस क्षेत्रमा बलियो देखिन्छ । त्यसमा पनि ईश्वर पोखरेलको उचाई, पदको मनोविज्ञान मतदातामा कतिको पर्ला जस्तो लाग्छ ?
पार्टीको पोजिसनले प्रभाव पर्ने हो भने लोकतन्त्रको केही अर्थ नै छैन । पोजिसनमा भएको मान्छेको मात्रै प्रभाव पर्ने, मठाधिशहरुले मात्रै चलाउने हो भने त समान्तवाद भइहाल्यो नि । पैसा हुनेले, शक्तिमा हुनेले मात्रै जित्ने हो भने त लोकतन्त्र नै रहँदैन ।
तपाईंले आफूलाई नयाँ अनुहार र परिवर्तनको वाहक भनेर आफूलाई बलियो ठान्नुभएको हो ?
नयाँ भनेको सांसदको रुपमा हुने हो । नत्र म नयाँ होइन । राजनीतिक व्यथितिलाई संग्लो बनाउन, सुशासन कायम गर्न हामीले कहिल्यै वकालत गरेका छैनौं । सडकमा भन्दा सदनमा गएर बोल्दा प्रभावकारी हुन्छ, सच्चिन र सच्चाउन सकिन्छ । सुशासन कायम गर्न मद्दत पुर्याउन सकिन्छ भन्ने हो । आम समस्याहरु थाह नभएका होइनन् । हल गर्नका निम्ति हाम्रो पोजिसनबाट प्रयास नगरको पनि होइन । वैकल्पिक राजनीतिको वकालत नगरेको पनि होइन । त्यसैले एउटा जनप्रतिनिधि हुने सन्दर्भमा म नयाँ होइन । सांसदको रुपमा प्रवेश गरेको छैन । गल्ती गरेकाहरुले दण्ड भोग्नुपर्छ । हामीले बनाएको विगतका कारण विश्वास गर्ने स्थिति छ ।
राजधानीमा परिवर्तनको मुद्दा बोकेर स्वतन्त्र उम्मेदवारहरुको क्याम्पेन पनि छ । त्यसको चुनौती दिइरहेको छ?
म यसलाई पार्टीहरुलाई दबाब दिन मतदाताहरुले गरेको विद्रोह हो भन्न रुचाउँछु । तर, मतदाताले के पनि बुझ्नुहुन्छ भने– स्वतन्त्र एक्लैले भन्दा पार्टीभित्र वैकल्पिक राजनीतिको वकालत गर्ने मान्छे आउँदा त्यसले बढी काम गर्न सक्छ । कार्यन्वयन गर्न सक्छ, परिवर्तन गर्न सक्छ भन्ने बुझ्नुभएको छ ।
यसको लाभ तपाईंले लिन सक्नुहुन्छ ?
हामीले उठाएका मुद्दाहरुले त्यस्तो देखिन्छ । हामी राजनीतिलाई र पार्टीलाई पनि सच्चाउने गरी उभिएका छौं । तमाम लोकतान्त्रिक व्यवस्थाका तमाम मान्यताहरुको पालना गराउनका लागि आन्तरिक रुपमा क्रान्ति गनुपर्ने जरुरी छ । त्यसमा तयार भएरै हामीहरु उभिएका छौं । अहिले जुन ढंगको व्यवहार छ, त्यो ढंगको व्यवहारले परिवर्तनको अनुभूति गराउन सक्दैन । झन् बढी निराशा बढाउँछ । अहिले स्वतन्त्रको लक्ष्य पनि व्यवस्थामाथिको प्रहार होइन । व्यवहार बदलिएन, अवस्था बदलिएन भन्ने हो । हामीले पनि राजनीतिक दलभित्रै रहेर अवस्था बदल्न खोजेका हौं । व्यवहार बदल्न खोजेका हौं । भ्रष्टाचारको एकदमै धेरै विरोध गरौं, तर भ्रष्टाचार मैत्री नीतिहरु नै बन्दै गए । संवैधानिक अंगमाथि हस्तक्षेप हुँदै गयो । अदालतमाथि हस्तक्षेप बढ्दै गयो । मन्त्रीपरिषद्को निर्णयमाथि अख्तियारले छानबिन गर्न पाउँदैन । लाभ लिने सबै निर्णय मन्त्रीहरुले मन्त्रिपरिषद्बाट गराउने भए । नीतिगत भ्रष्टाचारको अन्त्य नभएसम्म सुशासन कायम गर्न सकिन्न । जननिर्वाचित भएपछि त्यो व्यक्ति मालिक हुन पुग्यो । हाम्रो संविधान र लोकतन्त्रको मूल्यमान्यता भनको जनप्रतिनिधिहरु सेवक हुनुपर्छ भन्ने हो । त्यसैले प्रवृत्तिलाई बदल्न आवश्यक । व्यवहार बदल्न आवश्यक छ ।
दल र नेताहरुप्रतिको वितृष्णाकै कारण स्वतन्त्र उम्मेदवारहरु प्रति आकर्षण बढीरहेका छ जस्तो देखिन्छ । घरदौलमा मत माग्न जाँदा त्यस्तो पाउनु भयो कि भएन ?
केही पात्राहरुप्रति अत्यन्तै धेरै वितृष्णा छ । विद्रोह छ । त्यसका बाछिट्टा हामीलाई पनि परेको छ । यथार्थ कुरा भन्दै गएपछि, विषय र हुटहुटी भन्दै गएपछि मतदाताले बुझ्नु हुन्छ । दलभित्रै पनि सबै खराब छन् भन्ने मतदातालाई लागेको छैन । तर, दलभित्रको प्रवृत्तिले दलमा सुधार आवश्यक छ भन्ने सुझाव बढी छ । दलको सीमारेखा माथि गएर राष्ट्रहितका मुद्दाहरुमा वकालत गर्नसक्ने मान्छे चाहियो भन्ने बढी छ । यो स्थितिलाई सबै मतदातासँग भन्न सकियो भने चुनाव जित्न मलाई कठिन हुँदैन ।
तपाईंको विचारमा चुनाव जित्न मुख्य कुन तत्त्वले काम गर्छ जस्तो लाग्छ ?
लामो समय क्रियाशील रहेर पनि राजकीय भूमिकामा नपुगेकाले नयाँ हो भन्ने लाभ मलाई धेरै छ । दोस्रो कुरा ‘अनटेस्टेड’ र हुटहुटी भएको मान्छे नेतृत्वमा जानुपर्छ भन्ने मतदाताको चाहना छ । यी विषय मसँग भेटिन्छन् भन्ने लाग्छ । लामो समय सक्रिय भएँ । अझै केही वर्ष सक्रिय भइन्छ । जीवन नै सम्पूर्ण रुपमा राजनीतिमा सर्पण गर्दा पनि समाज र देशलाई के दियो भनेर प्रश्न गर्दा उत्तर भेटिने अवस्था छैन । पछिल्ला निर्वाचन लड्नका लागि राजनीति महोत्वकांक्ष पुरा गर्न व्यक्त गरेका विषय कार्यन्वयन गर्नुपर्छ भन्ने छ ।
तपाईंको मुख्य प्रतिस्पर्धी एमाले कि स्वतन्त्र ?
स्वतन्त्र साथीहरुको संख्या एकदमै बढी छ । संगठित भएर आएको भए त स्थिति अर्कै पनि हुनसक्थ्यो । मत बाँडिएको कारणले स्वतन्त्र शक्तिशाली हुन्न कि भन्ने अनुमान छ । मुद्दाको हिसाबले त मेरो अनुहार पनि त्यस्तै-त्यस्तै देखिन्छ । त्यो पक्ष भन्दापनि पहिला जितेको र संगठनको हिसाबले प्रतिस्पर्धी एमालेसँग बढी देखिन्छ ।
तपाईंले तनहुँ छाडेर काठमाडौंमा चुनाव लड्नुभएको छ । भोलीका दिनमा तनहुँमा सहज भयो भने काठमाडौं छोड्नु हुन्छ भन्ने मतदातालाई लाग्न सक्छ नि ?
धेरै अघिदेखि नै काठमाडौंमा चुनाव लड्न खोजेको हो । यहीँको प्रतिनिधि हुन खोजेको हो । त्यो अवसर प्राप्त नगरेको मात्रै हो । एक ढंगले मलाई रोजाइएको अवस्था हो । काठमाडौं जस्तो एक्सपोजर दिने ठाउँमा काम गर्ने अवस्था हुँदाहुँदै अन्त जाने कुरा हुन्न । मतदाताहरुलाई पनि भन्ने गरेको छु । कोभिडको बेलामा एउटै काम मैले काठमाडौं र तनहुँमा गरेको थिएँ । कोभिडका बेला काठमाडौंको नागर्जुनमा तीन सय बेडको आइसोलेसन सेन्टर चलायौं । ठिक त्यसैगरी तनहुँमा गरें । काठमाडौंमा निकै प्रचार भयो तर तनहुँमा भएन । तनहुँमा रिसोर्स पनि जुटेन । काठमाडौंमा प्रशस्त उठ्यो । अस्पतालमा अक्सिजन नहुँदा हामीले राखेर चलाएका थियौं । रगत दिने र लिने एउटा एप्स दुवै ठाउँमा चलायौं । तनहुँमा साढे ३ सयले त्यो एप्स चलाउनुभयो काठमाडौमा ५३ हजारले । त्यसैले यति सजिलो र एक्पोजेर हुने ठाउँ छाडेर जाने कुरा हुन्न । ठाउँ नपाउँदा विकल्प खोज्ने कुरा होला पाउँदा म काठमाडौं छाड्दिन । कान्तिपुर






प्रतिक्रिया