शैक्षिक सत्र सुरु भएको ७ महिना भयो, खत्याड–८ सुकाढिकको सर्वोदय माविमा ९ कक्षामा पढ्ने आशा कार्कीका हातमा पूरै सेट किताब परेका छैनन् । उनका ३७ सहपाठीले पनि अर्थशास्त्र, विज्ञान र शिक्षा विषय पाठ्यपुस्तकबिनै पढ्नुपरेको छ ।
‘कोर्स आधै पुगिसक्यो, किताबै आइपुगेनन्,’ भनिन्, ‘किताब अब पाइँदैन पनि होला ।’ समस्या उनको मात्रै होइन, मुगुका धेरै विद्यालयमा पूरै सेट किताब भने अझैसम्म पुगेका छैनन् । विद्यालयहरूमा मतदान केन्द्रका लागि तयारी भने धमाधम भइरहेको देखेका विद्यार्थी अनौठो मान्छन् ।
निर्वाचन आयोगले गत शनिबार हेलिकोप्टरबाट मतपत्र मुगु पठायो । प्रदेश निर्वाचन कार्यालयका अनुसार कर्णालीका सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । ‘हिमाली जिल्लामा त सबै मतपत्र र अन्य सामान पनि ढुवानी भइसक्यो,’ प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, ‘हाम्रो व्यवस्थापन करिब–करिब सकिन लाग्यो, अब मतदानको प्रतीक्षामा छौं ।’
उता पाठ्यपुस्तक नभएपछि विद्यार्थी निराश छन् । ‘चारवटा विषयका किताब आइपुगेनन्,’ सर्वोदय माविको ९ कक्षाका विद्यार्थी नवीन विकले भने, ‘किताब छैन, सरले भनेको पनि बुझिँदैन, होमवर्क गर्न पनि समस्या भयो ।’
विषयगत किताब नहुँदा विद्यार्थीको शैक्षिक गुणस्तरमा ठूलो असर परेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले बताए । ‘नयाँ किताब विद्यार्थीको मनोविज्ञानसँग पनि जोडिएको छ,’ उनले भने, ‘एक त हामीलाई पालिकाले समयमै किताबको पैसा पठाउँदैन, पठाए पनि ढुवानी गर्ने व्यवसायीले किताब ल्याउन सधैं ढिलो गर्छन् । अभिभावकबाट हामी गाली पाउँछौं, नतिजा पनि कहिल्यै राम्रो हुँदैन ।’
पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको घरमा पढ्ने चाहना पूरा नभएको स्थानीय अभिभावक कमल शाहीले बताए । ‘किताब आइदिए विद्यार्थीले कम्तीमा घरमा पढ्न त पाउँथे,’ उनले भने, ‘लगातार दुई वर्षसम्म पठनपाठन अवरुद्ध हुँदा विद्यार्थीको सिकाइस्तर पनि खस्किएको छ ।’ खत्याड गाउँपालिकाको पञ्चदय माविमा ६, ७, ८, ९ र १० कक्षाका विद्यार्थीले पनि अझै विषयगत किताब पूरा पाउन नसक्दा पढाइमा बाधा परेको छ । उक्त विद्यालयका कक्षा ७ मा कम्प्युटर, ८ मा पेसा व्यवसाय, कक्षा ६ मा गणित स्वास्थ्य, जनसंख्या र कक्षा १० मा ऐच्छिक गणित किताब विद्यार्थीले नपाएको शिक्षकको भनाइ छ । रातापानीस्थित महादेव मस्टा नमुना माविमा कक्षा ५ मा अंग्रेजी, ९ मा विज्ञान र कक्षा ८ मा पेसा व्यवसाय विषयका किताब पुगेको छैन । प्रधानाध्यापक नरेशबहादुर शाहीले भने ‘अपूरा किताबले विद्यार्थीलाई पढ्न र हामीलाई पढाउन गाह्रो भएको छ ।’ जनज्योति माविका ३५ विद्यार्थीले पूरै किताब नपाउँदा सिकाइको स्तरमै प्रभाव परेको प्रधानाध्यापक सुवास रावलले सुनाए । समस्या खत्याडका विद्यालयहरूमा मात्रै सीमित छैन । सोरु गाउँपालिकाभित्रका विद्यालयहरूमा पनि पाठ्यपुस्तक पर्याप्त पुगेका छैनन् ।
विद्यालयस्तरको शैक्षिक व्यवस्थापन स्थानीय तह मातहत छ । जनप्रतिनिधिहरूले भने सबै विद्यालयमा किताब पुर्याउन निर्देशन दिइसकेको बताउने गरेका छन् । ‘यहाँ किताब पुग्न एक जनाले जोड गरेर नहुने रहेछ, विद्यालय, स्थानीय तह, ढुवानी व्यवसायी र यातायात व्यवसायी सबैले समयमा काम गर्न सके मात्र पुग्ने रहेछ,’ सोरु गाउँपालिका उप ाध्यक्ष सरिता रोकायाले भनिन्, ‘स्थानीय तहबाट हुनुपर्ने रकम निकासाको काम समयमै भइसकेको छ ।’ वर्षाले सडक अवरुद्ध भएकाले किताब ढुवानीमा ढिला भएको जवाफ आएको उनले बताइन् ।
कर्णालीका जिल्लाहरूमा जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट पाठयपुस्तक ढुवानी हुने गरेको छ । कर्णालीमा कक्षा ४ देखि १० सम्मका १४ लाख १ हजार ७ सय ८९ किताब आवश्यक भएकोमा ९ लाख २९ हजार १ सय ४१ थान मात्र पुगेको केन्द्रका क्षेत्रीय प्रबन्धक धनबहादुर केसीले बताए । कान्तिपुर
प्रतिक्रिया