एमालेसँग चुनावी तालमेल गरेपनि आफ्नो सिद्धान्त, विचार र पार्टीको लाइनबाट पछाडि हटेको छैन । – उपेन्द्र यादव (अन्तवार्ता)

facebook sharing button
twitter sharing button
messenger sharing button
sharethis sharing button
शनिबार ३२ पृष्ठको चुनावी प्रतिबद्धतापत्र जसपाले सार्वजनिक गर्‍यो । खास के मुद्दामा फोकस छ ? पाँच वर्षमा ती प्रतिबद्धता पुरा होलान् त ?

हामी प्रतिबद्धतापत्रमा मुख्य रूपमा शिक्षा, स्वास्थ्य, रोजगार र नागरिक पहिचान गरी चारवटा मुद्दालाई विशेष रूपमा उठाएका छौँ । र, ती सबै प्रतिबद्धता पुरा हुने खालेको छ ।

कृषि उद्योग, जलस्रोत, आन्तरिक तथा बाह्य पर्यटनको विकास हाम्रो लक्ष्य रहेको छ । गरिबी, बेरोजगारी र अशिक्षाको अन्त्य गरी शिक्षा, स्वास्थ्य, रोजगार अवसर र सुरक्षामा सबैका समान अधिकार पुर्‍याउने जसपाको प्रतिबद्धता छ । त्यस्तै, देशको आर्थिक, भौतिक एवम् पूर्वाधार, सामाजिक, पर्यावरणीय विकास एवं विपद् व्यवस्थापन लगायतमा जसपाले विशेष जोड दिने भनेको छ ।

गरिब तथा विपन्न वर्ग, दलित, महिला र पिछडा वर्गलाई शिक्षा र रोजगारीमा विशेष आरक्षणको व्यवस्था गर्नुको साथै खाद्यान्न जस्ता वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि उत्पादनमा जोड दिने काम जसपाले गर्नेछ ।

त्यसका साथै नागरिकतामा रहेको लैङ्गिक विभेदको अन्त्य गरी, सबै नेपालीलाई नागरिकता प्रदान गराउने लक्ष्य हामीले लिएका छौँ । पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्न पनि जसपाले संघर्ष गरिरहेको छ ।

न्याय प्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गराउन पनि जसपा प्रयत्नशील रहनेछ । त्यस्तै, वर्तमान संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन गराउनका जसपा नेपाल प्रतिबद्ध छ ।

माथि चर्चा गरिएकै कुराहरू समेटेर २०७४ को चुनावमा पनि ४० पृष्ठको चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको थियो । तर प्रायः कार्यान्वयनमा आएन । यसपटक जनताले फेरि जसपामाथि किन विश्वास गर्ने ?

–हामीले विगतको चुनावमा गरेका प्रतिबद्धतामध्ये अधिकांश पुरा गरेका छौँ । तर सोचे जस्तो हुन सकेको छैन । त्यसको कारण हो, जसपाको हातमा शासन प्रशासन नहुनु । उसको भागमा जे परेको थियो, त्यो अनुसार थुप्रै काम गरेको छ । हामीले गर्ने प्रतिबद्धताहरु नीति निर्माण तहबाट पुरा हुने कुराहरू हुन् । सत्ता र सरकार अर्काको हातमा भएको कारणले हामीले चाहेर पनि गर्न सकेनौँ ।

हामी सरकारमा हुँदा नागरिकतालगायत संविधान संशोधन, समावेशी लोकतन्त्र समतामूलक समाज निर्माणका लागि निकै प्रयत्न गरेका थियौँ । उत्पीडित जाति तथा समुदायको हक, अधिकार र पहिचान अझै सुनिश्चित भएको छैन । त्यसका लागि हामीले आवाज उठायौँ । प्रादेशिक नीति योजना निर्माण, कार्यान्वयन र स्रोत परिचालन गर्न पनि हामीले केन्द्रमा आवाज उठायौँ तर त्यतिबेला सरकारले सुन्नै चाहेन । हामी त्यसको प्राप्तिका लागि अझै संघर्षमै छौँ ।

सत्ता शासन आफ्नो नभएको भन्नुभयो तर मधेस प्रदेशको सरकार जसपाले नै पाँच वर्षसम्म चलायो । त्यहाँ किन सोचेजस्तो काम भएन नि ?

–मधेस प्रदेश सरकारले काम नगरेको होइन । जनतासँग गरेको प्रतिबद्धताअनुसार थुप्रै काम भएका छन् । धेरै पाइप लाइनमा पनि रहेका छन् तर यो सही हो कि हामीले सोचेको जस्तो काम गर्न सकेनौँ । प्रदेश त बनायो तर अधिकारविहीन बनायो । संघीय सरकारले काम गर्ने वातावरण नै बन्न दिएन । प्रदेश सरकार बनायो तर शासन प्रशासन दिएन । एउटा प्रहरीलाई चलाउने अधिकार पनि दिएन ।

प्रदेश सरकारले नीति निर्माण बनाउन लाग्दा त्यसमा विभिन्न बाधा व्यवधान खडा गर्ने काम संघीय सरकारले गर्‍यो । तैपनि आफ्नो जोडबलले शिक्षा, स्वास्थ्य र नागरिक उत्तरदायित्वको क्षेत्रमा निकै महत्त्वपूर्ण कामहरू भएका छन् ।

मधेस प्रदेश जतिको काम अन्य प्रदेशमा भएको छैन । कृषि विश्वविद्यालय ऐन, २०७८ जारी भएको र त्यसको आधारमा मधेस प्रदेशको राजविराजमा कृषि विश्वविद्यालयको समेत स्थापना भएको छ । प्राविधिक विश्वविद्यालय ऐन, २०७८ जारी भएको र त्यसको आधारमा मधेस प्रदेशको वीरगञ्जमा प्राविधिक विश्वविद्यालयको स्थापना हुने क्रममा रहेको छ ।

स्वास्थ्य सेवा ऐन, २०७८ जारी भएको र सो ऐनको कार्यान्वयनको लागि स्वास्थ्य सेवा नियमावली तयारीको क्रममा रहेको छ । त्यस्तै, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ जारी भएको सो ऐनअनुसार मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भई सञ्चालनमा रहेको छ । मुजेलियास्थित मणिपालको भवन मर्मत सम्भार गरी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रदेश सरकारको सहयोगमा कोभिड विशेष अस्पताल सञ्चालन भइरहेको छ ।

२० वटा प्रस्तावित प्राविधिक विद्यालयहरूलाई शिक्षण सिकाई क्रियाकलापमा सहयोग पुग्ने गरी कार्यक्रम भएको छ । ५० वटा प्रस्तावित प्राविधिक विद्यालयलाई प्राविधिक कक्षा सञ्चालन गर्न स्तरोन्नतिका लागि प्रति विद्यालय २५ लाखका दरले रकम उपलब्ध गराइएको र सो रकमबाट प्रयोगशालाको स्थापना र स्तरोन्नति भएका छन् ।

१२२ जना सहिद परिवारको जीविकोपार्जनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएको थियो । एक सहिद परिवार एक रोजगारअन्तर्गत पनि रोजगारी उपलब्ध गराएको छ ।

यस्ता थुप्रै काम मधेस प्रदेश सरकारले गरेको छ । हामी पनि संघीय सरकारमा सहभागी भएको बेला जसपाले सम्हाल्दै आएको मन्त्रालयमार्फत ऐतिहासिक काम भएका छन् । स्वास्थ्य क्षेत्रमा जति काम मेरो पालामा भएको छ, त्यति काम पहिला कहिले पनि भएको थिएन । सहरी विकास तथा भौतिक मन्त्रालयअन्तर्गत सम्झनलायक काम भएका छन् तर नीति निर्माणको तहबाट हुनुपर्ने थुप्रै काम हामीले गराउन सकेका छैनौं ।

नीति निर्माणको तहबाट हुने कामहरू अबको पाँच वर्षमा कसरी गर्नुहुन्छ त ?

–चुनाव हुँदैछ, जनताले नीति निर्माणको तहमा हामीलाई पुर्‍याउनेछन् भन्ने हामीले विश्वास लिएका छौँ । सरकार नै नेतृत्व गर्ने तहमा जसपा पुग्छ भनी जनताले हामीलाई विश्वास दिलाएका छन् । जसपा गणितीय हिसाबले बलियो भयो भने मधेसी, आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने विश्वास हामीलाई छ । जसपा उत्पीडित समुदायको पक्षमा वकालत गर्ने पार्टी हो । यो पार्टी नीति निर्माणको तहमा गयो भने धेरै माग पुरा हुनेछ ।

विगतमा जसपालाई शक्तिशाली दलको रूपमा संसद्मा पुर्‍याएकै हो तर काम नगरेको गुनासो किन यथावत् छ ?

–हो, जनताले जसपालाई विश्वास गरेर २०६४ को संविधानसभा चुनावमा शक्ति प्रदान गरेर संसद्मा पुर्‍याएका थिए । त्यो बेला जसपाले ऐतिहासिक काम गरेको सर्वविदितै छ । जसपा अर्थात् त्यतिबेलाको मधेसी जनअधिकार फोरम नभएको भए देशमा समावेशी समानुपातिकसहितको संघीयता आउने थिएन । मधेसमा जागरण आउने थिएन । जनताले हामीलाई विश्वास गरेको कारण त्यसलाई पहिचान दिलाउने काम हामीले गरेका छौँ ।

आगामी चुनावमा जसपाका लागि के कस्तो चुनौती छ ?

–जसपाका लागि कुनै चुनौती छैन । जसपाले यो चुनावलाई अवसरको रूपमा लिएको छ । यो अवसरलाई सदुपयोग गरी जनताको हितमा काम गर्नेछ ।

एमालेसँग गठबन्धन गरेको कारण चुनावमा जसपालाई चुनौती थपिएको भन्छन्, त्यहीँ कारणले तपाईंहरुको आलोचना पनि भइरहेको छ नि, होइन र ?

–यो आलोचना विपक्षीहरूले गरिरहेका छन् । वास्तवमा एमालेसँग गठबन्धन होइन, केही सीटमा चुनावी तालमेल मात्र हो । एमालेसँग हामीले १७–१८ वटा सीटमा मात्र तालमेल गरेका छौँ, बाँकी सीटमा एक्ला एक्लै प्रतिस्पर्धा गरेका छौँ । जबकि हामी प्रतिनिधिसभाको ८१ वटा सीटमा प्रतिस्पर्धा गरिरहेका छौँ । त्यसले एमालेसँग गठबन्धन गरेको भन्न मिल्दैन । केही सीटमा  चुनावी तालमेल गरेको मात्र हो । एमालेसँग चुनावी तालमेल गरेको कारण जसपालाई कुनै चुनौती थपिएको छैन । बरु पाँच दलीय गठबन्धन छाडेको कारण फाइदै भएको छ ।

एमालेको विरुद्धमा पाँच दलीय गठबन्धन बनाउन तपाईंको महत्त्वपूर्ण भूमिका थियो । अन्तिमसम्म सोही गठबन्धनबाट चुनाव लड्ने निश्चित जस्तै थियो तर अचानक सो गठबन्धन छाडेर एमालेसँग तालमेल गर्नुले पक्कै पनि मधेसमा क्षति त पुगेकै होला नि ?

–छैन, कुनै क्षति पुर्‍याएको छैन । पाँच दलीय गठबन्धन एउटा विशेष परिस्थिति र अवस्थामा गठन भएको थियो । तर त्यो गठबन्धनले जसपालाई नै समाप्त पार्ने षड्यन्त्र गर्‍यो । जसपालाई खुम्चाएर, त्यसलाई समाप्त पर्ने षड्यन्त्र भएको थियो । त्यो षड्यन्त्रलाई चिर्न हामी सफल भयौँ ।

जसपा नेपाल यो देशको एउटा शक्ति हो । यो कुरा सबै स्वीकार गरिसकेका छन् तर ठुला दल भनाउँदाहरुलाई त्यो नपचेको कारण हामीमाथि षड्यन्त्र भयो ।

जसको विरुद्धमा गठबन्धन बनाउनुभयो, त्यही गठबन्धन छाडेर उसैसँग मिल्नुभयो । यो त सैद्धान्तिक, वैचारिक मात्र होइन, व्यवहारिक समेत थिएन । तर कसरी मिल्नु भयो ?

–नेपाली काँग्रेस नेतृत्वको सरकारले माओवादी नेताहरूको टाउकोको मूल्य तोकेको थियो तर आज त्यही माओवादीलाई टेकेर सत्ता सञ्चालन गरिरहेको छ । माओवादी र एमाले एउटै वर्गका हुन् । एक पटक एकीकृत पनि भएको थियो तर अहिले एक अर्कालाई प्रधान शत्रु मानिरहेका छन् ।

उता संघीयता नरुचाउने राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनमा सहभागी छ । गणतन्त्र नै नचाहने राप्रपा एमालेसँग गठबन्धन गरेको छ । अर्थात् राजनीतिमा कोही पनि कसैको स्थायी शत्रु वा मित्र हुँदैन । एउटा परिस्थितिमा विरोध हुन्छ, फेरि अर्को परिस्थितिमा मित्र बन्छ । यसरी नै विश्वको राजनीति चल्दै आएको हो ।

तर एउटा कुरा के विर्सिनु हुँदैन भने दलहरुले आआफ्नो विचार, सिद्धान्त र अवधारणालाई कायम राख्नुपर्छ । यसबाट विचलित हुनुहुँदैन । अहिले जसपाले एमालेसँग चुनावी तालमेल गरेपनि आफ्नो सिद्धान्त, विचार र पार्टीको लाइनबाट पछाडि हटेको छैन । एक अर्का पार्टीप्रति जुन सोच र दृष्टिकोण थियो, त्यो अझै कायमै छ ।

तपाईं आफ्नो क्षेत्रमा विकास गरेकै आधारमा चुनाव जित्ने भन्दै सप्तरी–३ मा आउनु भएको छ । के के काम गर्नुभएको छ यहाँ ?

–२०७४ को चुनावमा मैले घोषणा गरेको थिएँ कि सप्तरीलाई शिक्षा र स्वास्थ्यको ‘हब’ बनाउँछु, त्यो मैले गरे । राजविराजमा कृषि विश्वविद्यालय स्थापना भइसकेको छ । जीर्ण अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नतिदेखि नर्सिङ कलेज पनि स्थापना गराएको छु । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको तयारी भइरहेको छ । अन्य प्रविधि विद्यालय स्थापनाको काम पनि अगाडि बढेको छ ।

त्यसका साथै विभिन्न सडक सञ्जालको निर्माण र विस्तारलगायत संरचनाको निर्माणको काम पनि भएको छ । विगत १०–२० वर्षमा नभएको काम सप्तरीमा भएको छ । अब सप्तरीका जनता उच्च शिक्षा तथा स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने छैन । अन्य प्राविधिक कलेज स्थापना गर्ने मेरो सोच छ । आगामी पाँच वर्षको अवधिमा सप्तरीलाई थप शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गर्छु र त्यो सम्भव पनि छ ।

तपाईंले यी जति पनि कामको प्रचार गरिरहनु भएको छ, ती कामका योजना अरू अरूले ल्याएका थिए । तपाईंले त सिर्फ शिलान्यास र उद्घाटन मात्र गर्नुभयो भन्छन् नि ?

–विपक्षीहरूले जे पनि आरोप लगाउन मिल्छ तर मिडिया तथा सञ्चारकर्मी मित्रहरूले बुझेर लेख्दा राम्रो । विपक्षीले जे पनि भन्न पाउँछ, त्यो पनि अहिले चुनावको समय हो, भए नभएका कुराहरू गरेर भ्रम सिर्जना गरिरहेका हुन्छन् । त्यो भ्रममा कमसेकम मिडिया पर्नु हुँदैन । म स्वास्थ्य मन्त्री भएको बेला भएको यी सबै काम हुन् । नभए अहिले पनि त्यस बारेका निर्णय सिंहदरबारमा गएर हेर्न सकिन्छ । मधेसका नाम पनि सुन्न नचाहने व्यक्तिहरू रामराजा प्रसाद सिंह, गजेन्द्रनारायण सिंह, मधेसको नाम राखेर कसरी कलेज तथा अस्पतालहरू खोल्न सक्थे र त्यो सम्भव नै थिएन । जसपा भएको कारणले मात्र त्यो सम्भव भएको हो ।

सप्तरी–२ मा तपाईंको प्रतिस्पर्धा कोसँग छ ?

–मसँग कसैको प्रतिस्पर्धा छैन । १३–१४ जना उम्मेदवार छन् । सबै आआफ्नो तरिकाले चुनाव प्रचारमा लागेका छन् । म कसैलाई प्रतिस्पर्धी मान्दिन ।

स्थानीय तहको निर्वाचनमा आएको मत हेर्दा सत्ता गठबन्धनका उम्मेदवार जेपी ठाकुरभन्दा पछाडि हुनुहुन्छ । अनि कसैसँग प्रतिस्पर्धा छैन भन्न मिल्छ र ?

–स्थानीय तहको मत र आमचुनावको मतमा धेरै फरक हुन्छ । यी दुई चुनावको मतलाई तुलना गर्न मिल्दैन । स्थानीय चुनाव स्थानीय परिवेश र त्यहाँको मुद्दा र एजेण्डामा भएको हुन्छ । त्यसैको आधारमा मत दिन्छन् तर प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव राष्ट्रिय चुनाव हो । यसको परिवेश र अवस्था राष्ट्रिय अवस्था​सँग जोडिएको हुन्छ । राष्ट्रिय एजेण्डालाई ख्याल गरेर जनताले मतदान गरेका हुन्छन् ।

त्यसैले स्थानीय तहमा कसैले धेरै मत प्राप्त गरे । र, त्यसले जसपालाई प्रभाव पार्छ भनी विश्लेषण गलत हो । अहिलेको चुनावमा स्थानीय तहको मतले केही प्रभाव पार्दैन ।

विगतको चुनाव २१ हजार मतले जित्नु भएको थियो । यसपटक कति मत ल्याउनु हुन्छ ?

–यसपटक म दोब्बर मतले जित्छु । जनताले त्यो आधार तयार पारिसकेका छन् । प्रतिक्षा मंसिर ४ को छ ।

दोब्बर मतले जित्ने तपाईंको आधार के हो ?

–मैले गरेको काम, मधेसी जनताका लागि दिएको योगदान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मधेसलाई दिएको पहिचान लगायतका कारणले म चुनाव दोब्बर मतले जित्दैछु । जनता मेरो पक्षमा छन् । अरू कसैले कुनै षड्यन्त्र गरे सफल हुनेवाला छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार