प्रधानमन्त्री कप क्रिकेट : आर्मी सेमिफाइनलमा

 

त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आर्मीले कर्णाली प्रदेशलाई एक सय ४० रनले हराएर अन्तिम चारमा पुगेको हो ।

 

मूलपानी मैदानमा आर्मीले दिएको दुई सय ५५ रनको लक्ष्य पछ्याएको कर्णाली २८ ओभर ३ बलमा एक सय १४ रन बनाउँदा अलआउट भयो । उसका लागि विपिन रावलले ४८ रन बनाए । आर्मीका रोहित पौडेलले तीन तथा शहाब आलम र हरि चौहानले दुई/दुई विकेट लिए । समूह ‘ए’ बाट एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

 

यस्तै नेपाल पुलिस क्बल समूह ‘बी’ को विजेता बनेको छ । कीर्तिपुर मैदानमा मधेस प्रदेशलाई एक सय ९१ रनले हराउँदै पुलिस समूह विजेता बनेको हो ।

 

पुलिसले दिएको दुई सय ७४ रनको लक्ष्य पछ्याएको मधेस २९ ओभर ३ बलमा ८२ रनमा अलआउट भयो । मधेसका मोहम्मद आदिल आलमले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ पुलिसका कुशल भुर्तेलले पाँच, करण केसीले तीन र रशिद खानले दुई विकेट लिए ।

 

यसअघि पहिले ब्याटिङ गरेको पुलिसका लागि आरिफ शेखले ७३, अमित श्रेष्ठले ६५, दीपेन्द्रसिंह ऐरीले ५१ र दिलिपनाथले ४० रन बनाए । मधेसका राजेश यादव र रुपेश सिंहले तीन/तीन विकेट लिए ।

 

सेमिफाइनलमा भोलि पुलिस र त्रिभुवन आर्मी तथा एपीएफ र मधेस प्रदेशबीच खेल हुनेछ । फाइनल खेल शुक्रवार हुने तालिका छ ।

 

 

प्रतिक्रिया