विश्वकप: उद्घाटन खेल जित्न कतारले इक्वाडोरका खेलाडीलाई ९० करोड घुस दिएको दाबी

कतारमा आइतवारदेखि फिफा विश्वकप सुरु हुँदैछ। खेल सुरू हुनुअघि अनेक किसिमका चलखेल सुरु भएका छन्।

 

समाचार अनुसार, आयोजक देश कतारमाथि म्याच फिक्सिङको आरोप लागेको छ। कतारमाथि आफ्नो पहिलो खेलमा प्रतिद्वन्द्वी देश इक्वाडोरका खेलाडीहरुलाई घुस दिएको आरोप लागेको छ।

 

ब्रिटिश मिडिल इस्ट सेन्टर फर स्टडिज एन्ड रिसर्चका क्षेत्रीय निर्देशक अमजद ताहाका अनुसार कतारले उद्घाटन खेल हार्ने शर्तमा इक्वाडोरका खेलाडीलाई ७.४ मिलियन डलर अर्थात करिब ९० करोड नेपाली रुपैयाँ घुस दिएको हो।

 

ताहा र अन्य भित्री सुत्रलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार कतारले विश्वकपको पहिलो खेल हार्नका लागि इक्वाडोरका आठ खेलाडीलाई उक्त घुस दिएको दाबी गरिएको हो।

 

ताहाका अनुसार कतारले यो खेल आइतवार साँझ १-० गोलअन्तरले जित्नेछ। र, यो एक मात्रै गोल दोस्रो हाफमा हुनेछ।

 

विश्व फुटबल महासंघ (फिफा) ले यो विश्वकपमा म्याच फिक्सिङ रोक्नका लागि अमेरिकी एजेन्सी एफबीआईको सहयोग लिएको छ।

 

फिफाले यो विश्वकपमा विश्वभर १०० बिलियन डलर (करिब १३.७ लाख करोड रुपैयाँ) भन्दा धेरै बाजीमा लगाइने अनुमान गरेको छ। म्याच फिक्सिङ रोक्न फिफाले पहिलो पटक टास्क फोर्स बनाएको छ। यसमा बेटिङ मार्केटलाई अनुगमन गर्ने इन्टरनेशनल फर्म स्पोर्टरडार, इन्टरपोल, इन्टरनेशनल बेटिङ इन्टिग्रिटी एसोसिएशन र एफबीआई सामेल छन्।

 

यिनीहरुले हरेक खेलमा निगरानी गर्नेछन्। यो टास्क फोर्स गोलदेखि यलो कार्डमा हुने अनियमिततामाथि नजर राख्न तयार हुनेछ। स्पोर्टरडारका अनुसार यस वर्ष करिब यस्ता ६ सय खेल हुनेछन्, जसमा हेराफेरीको सम्भावना छ। अधिकांश यस्ता शंकास्पद खेल साना लिगका छन्। एजेन्सी

 

 

 

प्रतिक्रिया