सरकार बनाउन कसरत सुरु

आमनिर्वाचनको परिणामले सत्ता गठबन्धन भत्किएला वा निरन्तर रहला भन्ने अड्कल भइरहेका बेला प्रमुख दुई राजनीतिक दल कांग्रेस र एमालेले आगामी सत्ता समीकरणका लागि पहल थालेका छन् ।

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखिको संवादहीनता तोड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेर सहकार्य गर्न सकिने सन्देश दिएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राज्य सत्ताका पद बाँडफाँट गरेर सँगै अघि बढ्न सकिने भन्दै माओवादी अध्यक्ष दाहाललाई आश्वस्त पार्न खोजिरहेका छन् ।

 

प्रत्यक्ष १ सय ६५ र समानुपातिक १ सय १० गरी २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसद हुनुपर्छ । कांग्रेस र एमाले आपसमा मिल्दाबाहेक बहुमत पुर्‍याउन कम्तीमा तीन दलले सहकार्य गर्नुपर्ने अवस्था बन्दै छ । अहिलेसम्मको मतगणनाका आधारमा कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन बहुमतनजिक पुग्ने देखिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले यही गठबन्धनलाई निरन्तरता दिने र अपुग भए अन्य दलबाट जुटाउने तयारी गरेका छन् । तर गठबन्धनबाट अपेक्षित परिणाम हासिल गर्न नसकेका दलहरू खासगरी माओवादी र एकीकृत समाजवादीले के निर्णय लिन्छन् भन्ने टुंगो छैन । दुवै दलका केही नेताले कांग्रेससँगको गठबन्धन प्रभावकारी नभएको र वाम एकता आवश्यक रहेको बताउन थालिसकेका छन् ।

 

एमाले अध्यक्ष ओलीले बधाई दिने बहानामा माओवादी अध्यक्ष दाहालसँग आगामी सहकार्यको कुरा निकालेका छन् । लामो समयको संवादहीनता तोड्दै ओलीले बिहीबार फोन गरेका हुन् । ओली र दाहालबीच सम्बन्ध बिग्रिएकै कारण तत्कालीन नेकपा एकतापूर्वको अवस्थामा पुगेको थियो । तत्कालीन नेकपामा सिर्जित आन्तरिक विवादले नै एमालेलाई समेत विभाजन गरेको थियो । संघ र ४ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको एमाले सत्ताबाट बाहिरिएको थियो । आमनिर्वाचनले शक्ति मठारिदिएपछि एमाले र माओवादीले सहकार्य र एकताको कुरा गर्न थालेका छन् ।

 

माओवादी महासचिव देवप्रसाद गुरुङले बिहीबार नै एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग ‘मिलेर वाम एकताको पहल गरौं’ भनेर प्रस्ताव राखेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि वाम एकता हुन सक्ने बताएका छन् । अहिले उनीहरूले छलफलमा ल्याएको ‘वाम एकता’ ले मूर्तरूप लियो भने सत्ता समीकरण बेग्लै बन्न सक्छ ।कान्तिपुर दैनिकबाट

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार