कृषि विश्वविद्यालयमा ४ विद्यार्थी संगठनले लगाए ताला

१३, मंगलबार,

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बेथितिपूर्ण तरिकाले स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरुले ताला लगाएका छन् ।

 

विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका ठाँउमा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक, त्रुटिपूर्ण, विद्यार्थीलाई मार पार्ने खालेको भएको भन्दै चार विद्यार्थी संगठनले चरणवद्ध आन्दोलन गर्दै आएका छन् ।

 

अनेरास्ववियू, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियू छैँटौँले विभिन्न पाँच बुँदामा असहमति जनाएका छन् । नयाँ पाठ्यक्रम नै सार्वजनिक नगरी ‘नयाँ पाठ्यक्रमअनुसार अध्यापन गराइने छ’ भनी विश्वविद्यालयले सूचना जारी गरेको छ ।

 

प्रवेश परीक्षाका लागि लिइने शुल्कमा पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । विश्वविद्यालयले मनपरी ढंगले प्रवेश परीक्षाको शूल्क उठाउने र सो रकम विश्वविद्यालयको हितमा भन्दा पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको ‘भुँडी भर्न’मा खर्च गरिएको नजिर रहेको विद्यार्थीहरुको आरोप छ । उनीहरुले यो रकम चर्को र अवैज्ञानिक भएको जनाएका छन् ।

 

प्रत्येक संकायका लागि छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र सबैमा छुट्टाछुट्टै शुल्क लिइनु विद्यार्थीका लागि अन्यायपूर्ण भएको विद्यार्थी संगठनको भनाइ छ । उनीहरूले ‘साझा प्रवेश परीक्षा’को माग गरेका छन् ।

 

कृषि विश्वविद्यालयअन्तर्गत हाल कृषि, पशु, वन र माछा विज्ञान संकायका पढाइ हुन्छन् । त्यसका लागि देशभर ७ आङ्गिक र ७ सम्बन्धन प्राप्त कलेज छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार