
त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी विद्यार्थीको आकर्षण रहेको बिबिएलगायत अप्लाइड कोर्समा समेत यस वर्ष विद्यार्थी पाउन मुस्किल भएको छ । त्रिविका आंगिक क्याम्पसको समेत कोटा पूरा नहुँदा र निजी क्याम्पसमा भर्ना नै नभएपछि व्यवस्थापन संकायको डिनको कार्यालयले पुनः सिम्याट (प्रवेश परीक्षा)को व्यवस्था गरेको छ । लाखौँ खर्च गरेर पढ्दै आएका यस्ता व्यावहारिक भनिएका कोर्समा समेत विद्यार्थी पाउन मुस्किल भएपछि त्रिविका अधिकारी र कलेज सञ्चालकसमेत चिन्तित भएका छन् ।
यसअघि त्रिविका सेमेस्टर प्रणालीमा सञ्चालन भएका अप्लाइड कोर्स बिबिए, बिएचएम, बिआइएम, बिबिएम, बिटिटिआईजस्ता कोर्समा कोटाअनुसारको भर्ना पाउन समस्या थिएन । आंगिक क्याम्पसमा सस्तो र राम्रो पढाइ हुने भएकाले सबैभन्दा बढी सरकारी क्याम्पसमा भर्नाका लागि दबाब हुन्थ्यो । त्रिवि व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले यस वर्ष बिबिएबाहेकका विषयमा कोटासमेत पूरा नभएकाले कलेजहरूको आग्रहमा पुनः प्रवेश परीक्षाको व्यवस्था गरेको बताए । डिन शर्माले भने, ‘यस वर्ष अप्लाइड कोर्समा पनि विद्यार्थी कम भए, यसको कारण खोज्नुपर्छ ।’
त्रिविको आंगिक पब्लिक युथ क्याम्पस प्रमुख बलराम थापाले बिबिएबाहेकका अरू अप्लाइड कोर्समा कोटा पूरा नभएको बताए । क्याम्पस प्रमुख थापाले विगतमा आंगिक क्याम्पसमा कोटा पूरा भएपछि निजीमा जाने गरेकामा अहिले धेरै समस्या रहेको बताए । दोस्रोपटक हुन लागेको सिम्याटपछि कोटाअनुसार विद्यार्थी आउने अपेक्षा रहेको उनको भनाइ छ । के कारणले यसपटक विद्यार्थी आएनन् भन्ने विषय खोजी गर्न सके आगामी वर्षका लागि सहज हुने उनको भनाइ छ ।
त्रिविमा सबैभन्दा बढी विद्यार्थी अहिले व्यवस्थापन संकायमा अध्ययन गर्छन् । स्नातक तहको वार्षिक प्रणालीको बिबिएसमा मात्र डेढ लाख भर्ना हुने गरेका छन् । बिबिएस सस्तो छ भने बिबिएलगायत अप्लाइड कोर्स मँहगा छन् । आंगिक क्याम्पसमा भर्ना हुने विद्यार्थीले समेत यस्ता प्राइभेट कार्यक्रममा चार–पाँच लाख रुपैयाँ तिर्नुपर्ने अवस्था छ । नयाँपत्रिकाबाट
प्रतिक्रिया