स्पेनका प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिलाई ‘लेटर बम’

स्पेनका प्रधानमन्त्रीसहित उच्च पदस्थ सरकारी अधिकारीहरूलाई लक्षित गर्दै हालै ‘लेटर बम’ पठाइएको रहस्योद्घाटन भएपछि त्यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ ।

 

बुधबार राजधानी म्याड्रडस्थित युक्रेनी दूतावासमा त्यस्तै एउटा बम पडकिँदा त्यहाँका एकजना कर्मचारी घाइते भएका छन् ।

 

सरकारी अधिकारीहरूका अनुसार आक्रमणको तारो बनाइनेमा रक्षामन्त्री पनि रहेका छन् । त्यस्तै एउटा शंकास्पद उपकरण अमेरिकी दूतावासमा पनि पठाइएको छ ।

 

स्पेनले युक्रेनलाई समर्थन गरेको घटनासँग यी लेटर बमको सम्बन्ध रहेको अनुमान गरिएको छ । तर कसैले पनि जिम्मेवारी लिएको छैन ।  गत २४ फ्रेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले भने यस्ता ‘धम्की वा कार्यहरू’ पूर्णत: गलत भएको भन्दै आफूले कुनै पनि आतंककारी गतिविधिको भत्सर्ना गर्ने जनाएको छ ।

 

बिहीबार अपराह्न स्पेनी प्रहरीले म्याड्रिडस्थित अमेरिकी दूतावासमा पहिले नै यस्ता लेटर बमहरू निष्क्रिय पारिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्स सामु पुष्टि गरेको थियो ।

 

सुरुमा स्पेनी सरकारले पाँचवटा विभिन्न स्थानमा लेटर बम पठाइएको जानकारी दिएको थियो । २४ नोभेम्बरमा प्रधानमन्त्री पेद्रो सान्चेज कहाँ पनि पाइरोटेक्निक पदार्थ राखिएको एउटा पत्र पठाइएको तर कोही पनि घाइते नहुने गरी त्यसलाई निष्क्रिय पारिएको बताइएको छ ।  बीबीसीबाट ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार