
हालसम्म सात वटा राजनीतिक दलहरूले राष्ट्रिय पार्टीको मान्यता पाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज बिहानसम्मको समानुपातिकतर्फको मतपरिणाम अनुसार नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी ३ प्रतिशत ‘थ्रेस होल्ड’ कटाएका छन् ।
समानुपातिकतर्फ हालसम्म एमालेले सबैभन्दा बढी २७ लाख ८३ हजार ८५ मत पाएको छ । काँग्रेसले२६ लाख ५२ हजार दुई सय ९३, माओवादी केन्द्रले ११ लाख ६१ हजार ८ सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २२ हजार ९ सय ६६ मत पाएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २ सय ५१, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९ सय ४२ र जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ८४ मत पाएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले भने थ्रेस होल्ड कटाउन नसक्ने देखिएको छ ।
प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जा जिल्लामा भने मतगणना चलिरहेकाले त्यसको परिणाम आउन बाँकी रहेको बताउनुभयो । आयोगले ३ दिनभित्र समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न हुने अनुमानसमेत गरेको छ ।
प्रतिक्रिया