
उत्तरी गोरखामा एक सातादेखि अवरुद्ध टेलिफोन सेवा सुचारु भएको छ। बिहीबार दिउँसोदेखि टेलिफोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।
धार्चे गाउँपालिकाको केरौँजामा रहेको मुख्य टावरमा बिजुली बत्ती नहुँदा मोबाइल फोन अवरुद्ध भएको थियो। लघुजलविद्युत बिग्रिएपछि गाउँपनि अन्धकार भएको र टावरमापनि समस्या आएको थियो। ‘टावरमा बिजुली नहुँदा सेवा अवरुद्ध भएको थियो’ नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्र श्रेष्ठले भने ‘बिहीबारबाट सुचारु भएको छ।’
लघुजलविद्युत बन्द हुँदा टावरमा रहेको ब्याट्रीबाट करिब ८ घण्टा मात्रै मोबाइल संचालन हुन्छ। त्यसपछि बत्ती नहुँदा सेवा अवरुद्ध हुने टेलिकम गोरखाले जनाएको छ। छिट्टै केरौँजाको टावरमा सोलार जडान गर्ने तयारी भएको टेलिकम शाखा प्रमुख श्रेष्ठले बताए।
टावर अवरुद्ध हुँदा आफन्तसँग कुराकानी गर्न, सन्चोबिसन्चो सोध्न नपाएको, कोहीलाई बोलाउन पर्यो भने घरमै जानुपर्ने, फोनमा कुरा गर्न नपाएको गुनासो स्थानीयको थियो।
प्रतिक्रिया